भोट किन्न सोलार बाँड्दै सिंचाई राज्यमन्त्री

फोटो क्याप्सनः  सुनेरा लेखिएको गट्टामा सोलारका व्याट्री राखी गाडीमा लोड गरिँदै ।

रोल्पा, मंसिर ७ । सिंचाई राज्यमन्त्री अमरसिंह पुनले रोल्पाका विभिन्न गाउँमा गाडीको प्रयोग गरेर सोलार बाँडिरहेका छन् । कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पुनले चुनावी प्रचारप्रसारको गाडीसँगै सोलार बोकेका गाडी हिडाल्ने गरेको बताइएको छ ।

लिबाङको टुडिखेलबाट सोलारको व्याट्री गाडीभरि लोड गरेर पार्टी कार्यालयतर्फ लगिरहेको स्थानीयले बताएका छन् । टँुडिखेलमा रहेको चन्द्र इलेक्ट्रोनिक्स अगाडि सूर्य तेलको गट्टामा प्याक गरिएका एक गाडी सोलार व्याट्री मतदातालाई किन्नमा प्रयोग गरिएको बुझिएको छ ।

तस्बिरमा देखिएको यो गाडीमा सोलार व्याट्री लोड गरिँदै छ । तेल भएको बताइए पनि चेकजाँच गर्दा सबै गट्टामा सोलारको व्याट्री रहेका थिए । उक्त गाडी लोड गरिसकिएपछि कांग्रेस पार्टी कार्यालय पुगेको थियो । चुनावी प्रचारप्रसारमा हिडेका गाडीसँगै सोलार व्याट्री बोकेको गाडी पनि गाउँ पसेको पार्टी कार्यालय नजिकका स्थानीय बताउँछन् ।

नेपाली कांग्रेस रोल्पाका सभापति समेत रहेका अमरसिंह पुनले गाउँगाउँमा चामलका बोरा समेत बाँड्ने गरेको बताइएको छ । भोट किन्न अनेक प्रपञ्च गरिरहेको कांग्रेसले चामलको बोरा बाँडेका सूचना आफूहरुलाई प्राप्त भएको नेकपा एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले समेत बताए ।

त्यस्तै गाउँका साधारण मानिसलाई पार्टी प्रवेशको नाटक गर्दै माओवादी र एमालेका जिल्लास्तरका नेतालाई प्रवेश गराएको भ्रम छरेको बताइएको छ । पार्टी प्रवेश कार्यक्रममा जाँदै नगएका मान्छेहरुलाई समेत प्रवेश गरेको भनेर भ्रम छरेको भन्दै केही व्यक्तिले विज्ञप्ती समेत जारी गरेका छन् ।

भर्खरै सुलिचौरमा आयोजित चुनावी सभामा खुमेलका नवीन गुरुङ प्रवेश गरेका थिए, उनलाई माओवादीको जिल्ला सदस्य भएको प्रचार गरिएको थियो । तर उनी पार्टी सदस्य समेत नरहेको खुमेलका पार्टी अध्यक्षले बताए ।

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: