Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फुटबलर रोबिन्होलाई ९ वर्ष जेल सजाय

काठमाडौं, मंसिर ९ । एक समय ब्राजिली राष्ट्रिय टोलीको आक्रमणका मुख्य खेलाडी रहिसकेका फरवार्ड रोबिन्होलाई इटालीको अदालतले ९ वर्ष जेल सजाय सुनाएको छ । उनलाई सन् २०१३ मा इटालीको मिलानमा एक महिलालाई यौनहिंसा गरेको आरोपमा जेल सजाय सुनाइएको हो ।

फैसलाको समयमा रोबिन्हो अदालतमा उपस्थित नभएपनि उनको वकिलले फैसलाको विरुद्ध अपिल गरिसकेका छन् । अदालतले उनीसँगै अन्य पाँच ब्राजिलियन मिलेर २२ वर्षीय अल्बानियाकी युवतीमाथि हिंसा गरेको आरोपमा सजाय सुनाएको हो ।

रोबिन्हो आफैंले पनि इन्स्टाग्राममा लेख्दै आफू निर्दोष रहेको बताएका छन् । ‘मलाई लगाइएको आरोपको विरुद्धमा मैले अपिल गरिसकेको छु । सबै काम कानुनीरुपमा अगाडि बढिरहेको छ । मैले कुनै खराब काम गरेको छैन,’ उनले लेखेका छन् ।

सन् २००२ मा सन्तोसबाट क्लब फुटबल सुरु गरेका रोबिन्होले सन् २००३ मा ब्राजिलियन राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन् २००५ मा रियल म्याड्रिड पुगेका उनले त्यहाँ रहेर २ पटक लिग उपाधि जिते । त्यसपछि प्रिमियर लिगको सर्वाधिक ठूलो ट्रान्सफरमा उनी म्यानचेस्टर सिटी आएका थिए ।

सिटीमा खेल्न नसकेपछि उनले इटालियन क्लब एसी मिलानमा पाँच वर्ष बिताए । उनलाई अहिले लागेको आरोप यसै क्लबमा खेल्दा भएको घटनाको हो ।

उनी हाल ब्राजिलियन क्लब एटलेतिको मिनिएरोमा खेलिरहेका छन् । यसबीचमा उनले चिनियाँ क्लब ग्वान्झाउ एभर ग्रान्डबाट पनि खेले ।

अब रोबिन्होले सजाय भोग्ने नभोग्ने उनले गरेको अपिलको नतिजापछि मात्र थाहा हुनेछ । इटालीको कानुनअनुसार जेल सजाय काट्नुअघि उनले दुईपटक सम्म फैसलाविरुद्ध अपिल गर्न पाउनेछन् । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: