कम्युनिष्टहरुले मुलुकमा तानाशाही शासन लाद्न खोज्दै : देउवा

पाल्पा, मंसिर ९ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कम्युनिष्टहरुले तानाशाही शासन लाद्न खोजेको आरोप लगाएका छन ।

पाल्पाको रामपुरमा शनिबार काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा कम्युनिष्टहरुले शासन गरेर एकदलीय तानाशाही ल्याउन खोजेका छन् तर यसलाई नेपाली जनताले कदापी स्वीकार नगर्ने बताए ।

कम्युनिष्टको एकदलीय शासनले जनतालाई सधैं डर र त्रासमा राख्ने हुँदा लोकतान्त्रिक पार्टी काँग्रेसलाई विजय गराउन उनले आग्रह गरे । मुलुकको शान्ति र समृद्धिका लागि काँग्रेसको नेतृत्व जरुरी रहेको उनको भनाइ छ ।

त्यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठनबन्धनको कुनै पनि हालतमा औचित्य नभएको बताउँदै लोकतन्त्रभन्दा पछाडि देश फर्किन नसक्ने दावी गरे ।

निमुखालाई न्याय र विपन्नलाई आय दिने, बेरोजगारलाई रोजगार र आम्दानी गरी मुलुकमा अर्थतन्त्रको विकासका लागि काँग्रेसले मात्र काम गर्ने नेता पौडेलले बताए ।

आमसभामा पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार विजयराज घिमिरे, प्रदेशसभा (क) का उम्मेदवार देवराज ढकाल, महासमिति सदस्य रमणबहादुर थापालगायतले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्