बमगोलाको अवरोधबीच उत्साहजनक मतदान गर्ने सबैलाई वर्षमानले दिए धन्यवाद

रोल्पा, मंसिर १० । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं रोल्पाका प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका साझा उम्मेदवार वर्षमान पुन ‘अनन्त’ ले पहिलो चरणका मतदान सकिए लगत्तै सबै मतदातालाई धन्यबाद दिएका छन् ।

अनन्तले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत रोल्पासहित मतदान प्रक्रियामा सहभागी ३२ जिल्लाका मतदाताहरुलाई धन्यवाद दिएका हुन् ।

पूर्वअर्थमन्त्री अनन्तले विभिन्न अवरोधकाबीच मतदान प्रक्रियामा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्ने आममतदाताहरुलाई ‘महान् मतदाता’को संज्ञा दिएका छन् । उनले बम गोलाको बीचबाट पनि मतदान गर्ने थबाङका मतदाताहरुलाई विशेष धन्यवाद दिएका छन् ।

‘रोल्पा जिल्लासहित ३२ जिल्लाका मतदाताहरुले आज प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रियामा भाग लिई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुभएको छ,’ अनन्तले भनेका छन्, ‘म सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिन चाहान्छु । विशेष गरी क्रान्तिको केन्द्र, आस्थाको केन्द्र थबाङका मतदाताहरुले सबैखाले अवरोध पन्छाएर मतदान गर्नुभएको छ, उहाँहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।’

अनन्तले अब रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रभाव समाप्त भएको बताएका छन् । ‘मतदाताहरुलाई मतदानबाट रोकेर आफ्नो प्रभाव जमाउन खोजेका थिए, तर बम गोलालगायत अनेक अवरोधका बीचबाट पनि मतदाताहरुले उत्साहका साथ मतदान गर्नुभएको छ,’ उनले भनेका छन्, ‘अब रोल्पामा नेकपाको कुनै पनि प्रभाव रहेन ।’

कमेन्ट गर्नुहोस्