Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिना मगरकाे ७० बुँदे चुनावी घाेषणापत्र सार्वजनिक (पुर्ण पाठसहित)

कञ्चनपुर, मंसिर ११ । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा  वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार  बिना मगरले ७० बुँदे चुनावी घाेषणापत्र सार्वजनिक गरेकि छिन् । क देखि ठ सम्ममा सीमा व्यवस्थापन र सुरक्षाको प्रत्याभूतिदेखि आमसञ्चारको विकासका बिषय समेतलार्इ समेटिएकाे छ ।

घाेषणापत्रकाे पुर्ण पाठ

कञ्चनपुरको दक्षिणी क्षेत्रको समृद्धिका लागि वाम उम्मेदवारलाई मतदानकञ्चनपुरको दक्षिणी क्षेत्रको समृद्धिका लागि वाम उम्मेदवारलाई मतदान

(क) सीमा व्यवस्थापन र सुरक्षाको प्रत्याभूति

१. हामी भारतसँग जोडिएको सीमा क्षेत्रका कारण बारम्बार असुरक्षा झेल्दै आएका छौं । गत वर्ष भारतीय पक्षको आक्रमणबाट पुनर्वासको आनन्द बजारमा हामीले क. गोविन्द गौतमलाई गुमाउनुपर्यो । सीमाको समस्या समाधान गर्न केन्द्रीय र जिल्लास्तरबाट घनिभूत पहलको आवश्यकता रहेकाले यस विषयमा गम्भीर ढंगले पहल गरिने छ ।

नेपाली जनताले निर्वाधरुपमा आफ्नो घरवस्तीमा बाँच्न पाउने अवस्था सिर्जना गर्न सीमावर्ति भारतीय क्षेत्रका राजनीतिक पार्टी, सांसद, राजनीतिज्ञ र परराष्ट्र मन्त्रालयमार्फत् स्थायी हल खोज्न पहल गरिने छ । केन्द्रीयस्तरमा नेपाल–भारत सीमालाई व्यवस्थित गर्न संसद र अन्य तहमा जिम्मेवार भूमिका निर्वाह गरिने छ ।

२. सीमा वारपार आवतजावत व्यवस्थित गर्दै सीमापार अपराध नियन्त्रणका लागि आवश्यक समन्वय र पहल गर्ने ।

३. सीमा क्षेत्र एकीकृत विकास योजनालाई थप सुदृढ र व्यवस्थित बनाइने ।

४. सीमा क्षेत्रका वासिन्दाका लागि सीमा क्षेत्र सचेतना कार्यक्रम सञ्चालन गरिने ।

केन्द्र सरकारका तर्फबाट प्रदेश सरकारलाई आवश्यक पर्ने सहयोगको पहलकदमी हुने विश्वास दिलाउन चाहन्छौं ।

(ख) सशक्त सडक सञ्जाल

५. डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडकको निर्माण कार्य समयमै सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिने र निर्माण कार्यलाई गुणस्तरीय बनाउन निरन्तर अनुगमन र खबरदारी गर्ने ।

६. सुस्त र गुणस्तरहीन निर्माण कार्य भइरहेको बेलौरी–कलुवापुर सडक निर्माणलाई तीब्र र गुणस्तरीय बनाउन भूमिका निर्वाह गर्ने र उक्त सडकलाई प्रादेशिक सडकका रुपमा विकास गरिने ।

७. लालझाडी गाउँपालिकालाई ४ लेन कालोपत्रे सडकसँग जोड्न दोदा लगायतका साना ठूला नदीमा पुलको व्यवस्था गरिने र सडकलाई कालोपत्रे गरिने ।

८. पुरैना–भकुण्डा क्षेत्रबाट लालझाडी हुँदै कृष्णपुरसम्मको सडक बनाई सो सडकलाई हरित सडक नामाकरण गरिने ।

९. अमरैयाबाट बिनवारी जोड्ने लगायत आवश्यक सबै ठाउँमा २ वर्षभित्र झोलुङ्गे पुल बनाइने ।

१०. १ नम्बर निर्वाचन क्षेत्र भित्रका स्थानीय तह लालझाडी, पुनर्वास, बेलौरी  बेलडाँडीले वडा स्तरमा निर्माण गर्ने सडक कालोपत्रे र ग्राभेल कार्यमा बजेट अभाव हुन नदिन तथा केन्द्र र प्रदेश सरकारबाट पर्याप्त बजेट विनियोजनका लागि पहल गर्ने । यो क्षेत्रका सबै वडालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ ।

११. प्रदेशसभा १ नम्बर निर्वाचन क्षेत्रमा रिङ रोडको अवधारणा कार्यान्वयन गरिने ।

(ग) औद्यौगिक क्षेत्रको विकास र रोजगारी सिर्जना (बेलौरीको नाकालाई मूल भन्सार नाकाको रुपमा विकास गर्न पहल गर्ने)

१२. यस क्षेत्रको भारतसँगको  छोटी भन्सार बेलौरीलाई  मूल भन्सार नाकाको रुपमा विकास गर्न पहल गर्ने र पुनर्वासमा रहेको छोटी भन्सार लाई सञ्चालनमा ल्याइने छ । यसका साथै यस क्षेत्रमा सुख्खा बन्दरगाह (ड्राइपोर्ट) निर्माणको सम्भाव्यता अध्ययन गरी केन्द्रीय स्तरबाट आवश्यक पहल गरिने छ । गेटा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बन्ने प्रक्रियामा रहेकाले सुख्खा बन्दगाह र विमानस्थललाई जोड्ने योजना बनाइने छ ।

१३. क्षेत्र नम्बर १ का स्थानीय तहहरूमा सम्भाव्यता अध्ययन गरी विशेष औद्यौगिक क्षेत्रको निर्माणका लागि गुरुयोजना तयार पारिने छ । उक्त गुरुयोजनाका आधारमा औद्यौगिक क्षेत्र निर्माणका लागि पहल गरिने छ ।

१४. यस औद्यौगिक क्षेत्रमा कृषिजन्य उत्पादनहरू (उखु, खाद्यान्न, पशपंछी, माछा, दुग्ध, नगदेबाली, तरकारी लगायत) निर्माण, फलाम, कच्चा पदार्थको उत्पादन, काठ उद्योग, यातायात आदि उद्योगहरूको स्थापना गर्न प्रोत्साहन गरिने छ । यसबाट यो क्षेत्रमा आगामी १० वर्षमा कम्तिमा २० हजार जनताले प्रत्यक्ष रोजगारी पाउने अवसरको सिर्जना गरिने छ ।

१५. यस क्षेत्रबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको पूँजी र सीपलाई व्यवस्थित गरी उद्यमशीलता अभिवृद्धि गर्ने र सोको बजार व्यवस्थापन गर्ने ।

१६. स्थानीय राना, थारु, चौधरी, डगौरा समुदायले परम्परागत सीप र ज्ञान प्रयोग गर्दै आएका विभिन्न उत्पादनको संगठित र औद्यौगिक उत्पादनका लागि सीप तथा क्षमता अभिवृद्धि गर्ने र लघु उद्यमको विकास गर्ने विशेष योजना निर्माण गरी लागू गरिने छ । यसका लागि केन्द्रीय तहबाट राष्ट्रिय योजना तथा कार्यक्रम निर्माणका लागि पहल गरिने छ ।

१७. हाल सञ्चालित उद्योग तथा कार्यरत मजदुरले भोग्नुपरेका समस्यालाई दीर्घकालीन ढंगले समाधान गर्न विशेष पहल गरिने छ ।(घ) प्राविधिक शिक्षा र सामुदायिक शिक्षाको केन्द्र

१८. क्षेत्र नम्बर १ मा कृषि तथा बाली विज्ञानको अध्यापनका लागि कृषि क्याम्पसको स्थापना गरिने छ ।

क्षेत्र नम्बर १ को कृषि उपजको बजार प्रवद्र्धनका लागि क्षेत्रीय स्तरको कृषि उपज केन्द्र शीत भण्डार (कोल्ड स्टोर)को स्थापना गरिने छ ।

१९. क्षेत्र नम्बर १ अन्तर्गतका स्थानीय तहहरूसँग समन्वय गरी यस क्षेत्रबाट प्राविधिक जनशक्ति उत्पादन गर्न नर्सिङ, इन्जिनियरिङ, नापी लगायतका प्राविधिक विषय पढाउन सक्ने गरी सामुदायिक शिक्षालयको स्थापनाका लागि पहल गरिने छ ।

२०. बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसलाई राज्यको पूर्ण स्वामित्वमा ल्याई स्नातकोत्तर तहको अध्यापन सुरु गराइने छ ।

२१. हाल रहेका सबै सामुदायिक विद्यालयको थप स्तरोन्नति, शिक्षकको व्यवस्थापन तथा पाठ्यसामग्रीको समस्या अन्त्य गर्न स्थानीय तहहरूसँग समन्वय गरी पहल गरिने छ । सबै सामुदायिक स्कूलमा कम्प्यूटर ल्यावको स्थापना गरिने छ ।

२२. निजी तथा सामुदायिक विद्यालयबीच शिक्षाको गुणस्तरमा देखिएको अन्तर अन्त्य गर्न सामुदायिक विद्यालयको स्तर बृद्धि गरिने छ । सबै स्कूलमा नेपाली र अंग्रेजी दुबै भाषामा पठनपाठन गराउने व्यवस्था गरिने छ ।

२३. क्षेत्र नम्बर १ का ४ वटा स्थानीय तहबाट १–१ विद्यालयको छनौट गरी नमूना विद्यालय बनाइने छ । भविष्यमा यो योजना सबै विद्यालयमा लागू गरिने छ ।

२४. गरीब, जेहेन्दार तथा सीमान्तकृत, सहिद, अपाङ्ग, घाइते परिवारबाट उच्च शिक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि कोष स्थापना गरिने छ ।

(ङ) गुणस्तरीय स्वास्थ्य केन्द्रको रुपमा क्षेत्र नम्बर १ लाई विकास गरिने

२५. क्षेत्र नम्बर १ का जनतालाई प्रत्यक्ष लाभ हुने गरी बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र पुनर्वास प्राथमिक स्वास्थ्य केन्द्र सुविधा सम्पन्न अस्पतालमा रुपान्तरण गरिने छ ।

२६. सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा दक्ष चिकित्सक, एक्सरे मेसिन, रगत परीक्षण, विभिन्न रोगको परीक्षण (पाठेघरको क्यान्सर, थाइराइड, सिकलेस आदिको पहिचान परीक्षण) को सुविधा लगायतका सेवा पु¥याइने छ ।

२७. क्यान्सर, स्पाइनल, पाठेघर खस्ने लगायतका विशेष प्रकृतिका रोगको उपचारका लागि आर्थिक अभाव हुन नदिन स्थानीय तहसँग समन्वय गरी एकीकृत स्वास्थ्य उपचार कोषको स्थापना गरिने छ ।

२८. गर्भवति आमा र शिशुको स्वास्थ्य खतरामा पर्न नदिन दक्ष जनशक्तिबाट गर्भ जाँच र सुरक्षित सुत्केरी सेवा तथा आमा र शिशुको स्वास्थ्य स्तर सुधार गर्न आमा समूहको परिचालनमार्फत् विशेष योजना अगाडि सारेर कार्यक्रम लागू गरिने छ ।

(च) महिला, विपन्न, असहाय, किसान, गरीब, सीमान्तीकृत जनताका लागि विशेष योजना

२९. शिविरमा अभावको जिन्दगी जिउन बाध्य पारिएका आरक्ष पीडितको समस्या स्थायी रुपमा समाधान गरिने छ ।

३०. विभिन्न वडा र टोलमा गठन भएका आमा समूह र नभएका ठाउँमा गठन गरी उनीहरूमार्फत् एकीकृत वित्तीय सहकारीको सञ्चालन गरी आर्थिक तथा जीविकोपार्जनमा टेवा पुग्ने योजना बनाइने छ । यस्ता समूहलाई राज्य र अन्य निकायबाट सहयोगका लागि पहल गरिने छ ।

३१. गरीब, असहाय, अशक्तहरूको जीविकोपार्जनका लागि स्थानीय तहसँग पहल गरी आवश्यक सहयोग गरिने छ । वर्षौैंदेखि आफ्नो जमिनको भोगचलन गर्दै आएपनि जग्गाको कानूनी स्वामित्व (लालपूर्जा) नभएर समस्या झेलिरहेका किसानको समस्यालाई कानूनीरुपमा हल गर्न पहल गरिने छ । गरीब र सुकुम्बासी तथा विभिन्न अस्थायी शिविरमा बसोबास गरिरहेका जनताका लागि एकीकृत आवास योजना विकास गरी एकीकृत वस्ती निर्माण गरिने छ ।

३२. यस क्षेत्रमा रहेका बहुसंख्यक आदिवासी जनजाति समुदायका महिलामा रहेको हस्तकलाका सामग्री निर्माण गर्ने सीपलाई व्यवसायिकरण गर्दै उत्पादनको बजारीकरणका लागि पूर्वाधार निर्माण गरिने छ । घरायसी प्रयोगका लागि हुने पशुपालनलाई व्यवसायिक रुप दिएर आयआर्जनसँग जोड्न पहल गरिने छ । पशुपालक महिलाको आयआर्जन बढाउन विभिन्न सहकारीसँग समन्वय गरी यस क्षेत्रमै डेरी उद्योग स्थापना गरिने छ ।

३३. किसानलाई स्थानीय तहमार्फत् अनुदानको मल र बीउ वितरणका लागि केन्द्रीय स्तरबाट आवश्यक बजेटको व्यवस्था मिलाउन पहल गरिने छ । र, उचित मूल्यमा कृषिजन्य उत्पादनको खरिद बिक्रीका लागि सरकारी डिपो स्थापना गर्न पहल गरिने छ ।

(छ) पर्यटनको विकास, आर्थिक समृद्धिको आधार

३४. लालझाडी गाउँपालिकालाई ‘राना पर्यटकीय गाउँ’का रुपमा विकास गरेर पर्यटक भित्र्याई आर्थिक उपार्जनमा सहयोग हुने खालका कार्यक्रम सञ्चालन गरिने । गाउँपालिका भित्रका विभिन्न गाउँवस्तीमा सडक, खानेपानी, विद्युत्, स्वास्थ्य सुविधालाई आधुनिक बनाएर पर्यटक घुम्न मिल्ने खालका भौतिक सुविधा विकास गरिने ।

३५. लालझाडीमा थारु सांस्कृतिक प्रतिष्ठान स्थापना गरिने ।

३६. पुनर्वासको विविधतायुक्त व्यवस्थित वस्तीलाई साझा फुलवारीका रुपमा विकास गरेर नमूना वस्ती बनाइने ।

३७. कोटीहोम–बन्दाताललाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजना बनाइने । सो स्थलबाट पहुँच मार्गले जोडेर भकुण्डा क्षेत्रको ऐतिहासिक एवम् पुरातात्विक संरक्षण र विकास गरिने ।

३८. यस क्षेत्रको पर्यटन बोर्डमा सूचिकृत बेलौरीको बन्दाताललाई ‘फिसिङ हब’का रुपमा निर्माण गरी व्यवस्थित पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने । यसबाट ५ सय बढीलाई रोजगारी दिने गरी निर्माण गर्ने । यसका साथै प्याराताल, पुरैनाताल, शोभाताल, झिलमिला ताल, चकिया कुण्डा लगायतका ताल तलैयालाई आर्थिक आयआर्जन र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । यी क्षेत्रलाई केन्द्रीय पर्यटन कार्यक्रमसँग जोडिने छ ।

३९. स्थानीय डंगौरा थारु तथा राना समुदायको संस्कृति तथा कलाको संरक्षणका लागि सांस्कृतिक केन्द्र र पुरातात्विक संग्रहालयको निर्माण गरी सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने छ ।

४०. लालझाडी तथा अन्य सम्भाव्य क्षेत्रको पहिचान गरी स्थानीय तहहरूसँगको समन्वयमा जंगल सफारी लगायतका अन्य योजनाहरू लागू गरिने छ ।

४१. बेलडाँडीको कालिकिच क्षेत्रलाई जैविक पार्कयुक्त पर्यटकीय स्थलका रुपमा विकास गरिने ।

४२. पुनर्वास नगरपालिका–७ र ८ को बीचमा रहेको पिकनिकस्थललाई भ्यूटावर सहितको आकर्षक जैविक पार्क विकास गर्न गुरुयोजना निर्माण गरिने ।

४३. सहिद गोविन्द गौतम प्रतिष्ठान स्थापना गरी राष्ट्रियताको भाव जागृत गर्ने खालका कार्यक्रम सञ्चालन गरिने ।

४४. शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्रबाट समेत निकुञ्जभित्र पर्यटकलाई प्रवेश गर्न मिल्ने गरी व्यवस्था गरिने छ । त्यसबाट स्थानीय युवाका लागि स्वरोजगार र रोजगारीका अवसर सिर्जना हुने छन् ।

 (ज)  सीमसार क्षेत्रको व्यवस्थापन

४५. सिमसार क्षेत्रको संरक्षण लागि राष्ट्रिय सिमसार क्षेत्रसँग सम्बन्धित कार्यक्रम अन्तर्गत यस क्षेत्रका सबै सिमसारहरूलाई अन्तरसम्बन्धित गरिने छ ।

४६. सिमसार क्षेत्रलाई यस क्षेत्रका जनताको जीविकोपार्जन उकास्ने किसिमले कार्यक्रमहरू केन्द्रीय तहबाटै सञ्चालन गरिने छ । र, स्थानीय तहका कार्यक्रममा आवश्यक पर्ने बजेट ल्याउन सशक्त भूमिका निर्वाह गरिने छ ।

४७. महाकाली सिँचाइको दोस्रो चरणको नहर निर्माण गर्दा झिलमिला, वैवाहा, कुण्डा, पचुई लगायतका क्षेत्रको उर्वर भूमि सिमसारमा परिणत भएकाले सो क्षेत्रमा पानी निकासका लागि ड्रेन निर्माण गरी सिमसार समस्या समाधान गरिने छ ।

(झ) कृषि उत्पादन र उपजको व्यवस्थापन

४८. नेपाल सरकारको दीर्घकालीन कृषि योजना तथा कृषि कार्यक्रम अन्तर्गत क्षेत्र नम्बर १ का सम्भावित क्षेत्रलाई नमूना कृषि क्षेत्र (सुपर जोन) का रुपमा विकास गर्न विशेष पहल गरिने छ ।

४९. कृषि खाद्य डिपोको स्थापनाका लागि राज्य सरकार र केन्द्रीय कृषि कार्यक्रमअन्तर्गत पहल गरिने छ ।

५०. क्षेत्र नम्बर १ को कृषि उपजको बजार प्रवद्र्धनका लागि क्षेत्रीय स्तरको कृषि उपज केन्द्र शीत भण्डार (कोल्ड स्टोर)को स्थापना गरिने छ । यस क्षेत्रको कृषि उत्पादनलाई अन्य जिल्लामा समेत लैजान आवश्यक पहलकदमीका लागि प्रदेश सरकार र केन्द्र सरकारमार्फत् पहल गरिने छ ।

५१. कृषि उपजको भण्डारणका लागि बेलौरीमा एक सरकारी कोल्ड स्टोरको स्थापना गरिने छ ।

५२. परासनदेखि—झिलमिmला जोड्ने पक्की कृषि सडकको निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरी सम्पन्न गरिने छ ।

५३. शुक्लाफाँटा निकुञ्जबाट वन्यजन्तु वस्तीमा आएर पु¥याउने नोक्सानीलाई कम गर्न वन्यजन्तु बाहिर आउन नसक्ने खालको व्यवस्था गरिने छ ।

५४. यस क्षेत्रलाई उखु उत्पादनको आधार क्षेत्रको रुपमा विकास गरी उखु किसानलाई राज्यको तर्फबाट बिउ, मलखाद र उत्पादनका आधारमा सहुलियतको लागि आवश्यक पहल गरिने छ ।

५५. कृषियोग्य जमिनको सामूहिक उपयोगका लागि कृषिको सहकारीकरण तथा बजारीकरण गर्ने राष्ट्रिय नीति निर्माण र कृषक, कृषि सहकारी तथा कृषि व्यवसायीलाई मल, बीउबिजन, कर लगायतका क्षेत्रमा अनुदान दिन नीतिगत व्यवस्थाका लागि पहल गरिने छ ।

५६. एकीकृत सिँचाइ परियोजनाका लागि केन्द्रीय परियोजना निर्माणका लागि पहल गरिने छ । स्थानीय तह र प्रदेश सरकारबाट भूमिगत सिँचाइ परियोजनाका लागि विशेष पहल गरिने छ ।

५७. मोहना नदीको पानी उपयोग गरी पुनर्वास नगरपालिका–१० र ११ मा सिँचाइ तथा जलाशय निर्माण गरी सोमा पर्यटकीय क्षेत्र विकास गरिने ।

५८. नहर सिँचाइ नपुगेका क्षेत्रमा विद्युतीय सिँचाइको प्रबन्ध मिलाइने ।

(ञ) स्मार्ट सिटी, स्मार्ट जनता ः सुन्दर शहरदेखि स्टेडियमसम्म

५९. बेलौरी, बेलडाँडी, पुनर्वास र लालझाडीमा स्मार्ट सिटीको अवधारणा अगाडि बढाइने छ । यसका लागि रिङरोडको निर्माणदेखि शहर क्षेत्रभित्र अत्यावश्यक सबै पूर्वाधारको विकासका लागि केन्द्र र स्थानीय तहबाट पहल गरिने छ ।

६०. २०२९ साल माघदेखि नगर विकास समिति गठन भई बेलौरी बजारका घरेडी वितरण हुन थालेको पुरानो जिल्ला सदरमुकाम समेत रहेको बजार क्षेत्र बेलौरीमा ढल निकासको समस्या रहेकाले तत्काल सर्वे गरी ढल निकासको लागि आवश्यक बजेटको ब्यवस्था गरिने छ ।

६१. यस क्षेत्रमा रहेका साना ठुला सबै बजार क्षेत्रमा सोलार सडक बत्तीको व्यवस्था गरिने छ ।

६२. क्षेत्रीय र राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताहरू समेत सञ्चालन हुन सक्ने गरी एउटा खेलकुद स्टेडियमको स्थापना गरिने छ । यसका साथै खेल प्रशिक्षण केन्द्रको स्थापना हुने छ ।

६३. दुबै प्रदेश क्षेत्रमा १÷१ वटा कबर्ड हल निर्माण गरिने छ ।

६४.. स्थानीय तहले अघि सारेका योजना तथा कार्यक्रमलाई लागू गर्न केन्द्रबाट विशेष पहल र सहयोग गरिने छ ।

(ट) नदी कटान नियन्त्रणको स्थायी व्यवस्थापन

६५. दोदा र चौधरा नदीको आतंकले हामीले पाएको दुःख वर्णन गरी साध्य छैन । हालसम्म ४ हजार विगाहाभन्दा बढी जमिन नदी कटान भइसकेको छ । त्यसैले नदी कटानका लागि दुबैतर्फ स्थायी प्रकृतिको वाल निर्माण गरी नदीलाई प्राकृतिक बहावमा लैजान भारतीय सीमासम्म तटबन्ध निर्माणका लागि केन्द्रीयस्तरको योजना अगाडि बढाइने छ ।

६६. बाढीको समस्या झेल्नुपर्ने सबै क्षेत्रमा नदी नियन्त्रण, तटबन्ध तथा एकीकृत वस्ती पुनस्र्थापना र विकास योजनाका लागि पहल गरिने छ ।

(ठ) आमसञ्चारको विकास

६७. क्षेत्र नम्बर १ मा दूरसञ्चार र अन्य टेलिफोन सेवाको गुणस्तरीयताका लागि आवश्यक पहल गरिने छ । मोवाइल नेटवर्क काम नगर्ने क्षेत्रमा दुरसञ्चारका थप टावर स्थापना गर्न पहल गरिने र इन्टरनेट सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन पहल गरिने छ ।

६८. यस क्षेत्रका सामुदायिक रेडियो तथा अन्य सामुदायिक सञ्चार गृहलाई राज्यका तर्फबाट अनुदान, विज्ञापन र कर छुट लगायतका प्राप्त हुन सक्ने सहयोगका लागि पहल गरिने छ ।

६९. नेपाल पत्रकार महासंघसँग समन्वय गरी क्षेत्र नम्बर १ मा रहने गरी आमसञ्चार र सञ्चारकर्मीलाई लाभ हुने उद्देश्यले आमसञ्चार प्रतिष्ठानको निर्माणका लागि पहल गरिने छ ।

७०. सुन्दर र समृद्ध सुदूरपश्चिमको सपनालाई यथार्थमा परिणत गर्न प्रदेश नम्बर ७ को समग्र विकासका लागि केन्द्रबाट लगानी र कार्यक्रमका लागि समेत विशेष पहल गरिने छ । केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयमा विकास योजनालाई कार्यान्वयनमा ल्ल्याइने छ ।

केन्द्र सरकारका तर्फबाट प्रदेश सरकारलाई आवश्यक पर्ने सहयोगको पहलकदमी हुने विश्वास दिलाउन चाहन्छौं । धन्यवाद !

– निर्वाचन प्रचार प्रसार समितिक्षेत्र नम्बर १, कञ्चनपुर

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: