हङकङमाथि नेपालकाे शानदार जित

काठमाडौं, मङ्सिर ११ । आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो स्थानको लागि भएको प्ले अफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको छ । सोमबार भएको खेलमा हङकङमाथिको जितसँगै नेपालले तेस्रो स्थानमा रहेर प्रतियोगिता सकाएको छ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको हङकङले १९ ओभर ५ बलमा अलआउट हुँदै ५८ रन बनायो । नेपालको कसिलो बलिङसामु हङकङका कुनैपनि ब्याट्सवुमनले उलेख्य रन जोड्न सकेनन । हङकङकी चार्लोटे चानले सर्वा्धिक १३ तथा का यिङ चानले ११ रन जोडिन । यस्तै मारीको हिलले ७ रन बनाईन् । नेपालकी करुणा भण्डारी एक्लैले ३ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर ९४ रन बनाएको थियो । हङकङविरुद्ध खराब सुरुवात गरेपनि मध्यक्रमको ब्याट्वुमन टिकेर खेलेपछि नेपालले सम्मान जनक स्कोर बनाएको थियो । नेपालले मात्र ७ रन जोड्दा ओपनर सिता राना मगर ३ तथा ज्योति पाण्डे २ रनमा गुमाएको थियो । तर, क्रिजमा टिकेर खेलेकी नेरी थापाले ३८ रन जोड्दै नेपालको पारी उकासेकी थिइन् ।

यस्तै कप्तान रुविना क्षेत्री १५ तथा करुणा भण्डारी १४ रनमा अविजित रहिन् । त्यसबाहेक नेपालकी काजोल श्रेष्ठ १२ रन बनाएर पेभेलियन फर्किदा रिता कुमारी कनौजिया पनि २ रनमा आउट भईन् । हङकङकी मारीको हिल र मारिनाले समान दुई दुई विकेट लिदा चार्लोटे चानले एक विकेट लिए ।

एसिया छनोटबाट ग्लोबल छनोटमा पुग्न असफल नेपालले तेस्रो स्थानको लागि भएको प्ले अफमा हङकङसँग प्रतिस्पर्धा गरेको हो । राउण्ड रोबिनको आधारमा जारी एसिया छनोटमा नेपाल तेस्रो स्थानमा रहदै तेस्रो स्थानको लागि हुने प्ले अफ छनोट भएको थियो । यस्तै हङकङ चौथो स्थानमा रहदै तेस्रो स्थानको लागि प्ले अफमा छानिएको हो ।

छनोटको अन्तिम खेलमा आइतबार चीनलाई ५० रनले पराजित गरेपनि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । ग्लोबल छनोटमा पुग्न नेपाललाई छनोटको शिर्ष दुईमा पुग्नुपर्ने हुन्थ्यो । तर, छनोटमा नेपाल ६ अंक जोडेर तेस्रो स्थानमा सिमित भयो । नेपालले प्रतियोगिताको दुई खेलमा जित र एक हार बेहोर्दा दुई खेलमा अंक बाँडेको थियो ।

छनोटको उपाधिको लागि शिर्ष दुई टोली आयोजक थाइल्याण्ड र युएईले सोमबार नै प्रतिस्पर्धा गर्दैछन् । थाइल्याण्ड र युएईले नेदरल्याण्डमा हुने विश्वकप छनोटको ग्लोबल छनोटमा समेत स्थान बनाएको छ । छनोटमा आयोजक थाइल्याण्ड ९ अंकसहित शिर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्दा ८ अंक जोडेको युएईले पनि ग्लोबल छनोटमा स्थान पक्का गरेको छ। ग्लोबल छनोटको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् ।

कमेन्ट गर्नुहोस्