बैकुण्ठबहादुर चन्दले भने–‘ गोकर्ण विष्टलाई भोट दिदैछु’

प्रेम सुनार

गुल्मी, मंसिर ११ । गुल्मीमा विकासको मेरुदण्डा मानिने पुराना जनप्रतिनिधि बैकुण्ठबहादुर चन्दले गुल्मीको पछिल्लो विकास निर्माणमा एमाले नेता तथा क्षेत्र नम्वर २ का प्रतिनिधि सभा उमेदवार गोर्कणराज विष्टको ठुलो हात रहेको बताएका छन् ।

साविकको अग्लुङ्ग गाविस निवासी ८४ वर्षिय चन्दले समयले कोल्टे फेर्दै जाँदा आफुले पनि राजनीतिकरुपमा कोल्टे फेरेर वाम गठबन्धनका उम्मेदवार गोकर्णराज विष्टलाई सघाउने उद्घोष गरेका छन् ।

तानसेन तम्घास सडक जनता उठाएर आफै खनेका तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य बैकुण्ठबहादुर चन्दले अग्लुङ्गमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभामा सहभागी थिए ।

उक्त सभामा सञ्चारकर्मीले राखेको जिज्ञाषामा उनले उमेदवार गोकर्ण विष्ट विकास प्रेमी नेता भएको र पहिलो पटक आफुले ८४ वर्षको उमेरमा उनलाई भोट हाल्ने उद्घोष गरे ।

धेरै पटक गुल्मीमा जिल्ला विकास समितिको सभापति रहेका र दुई दुई पटक राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका चन्दले हिजोका दिनमा कम्युनिष्टहरुलाई घृणा गर्ने गरे पनि अहिले समर्थन गरेको बताए ।

‘हिजो समय त्यस्तै थियो’–चन्दले भने– ‘अहिले त्यो समयले कोल्टे फेरि सक्यो , नेपालमा कम्युनिष्टहरु मिलेकोमा सकारात्मक रुपमा लिएको छु ।’ तपाई लामो समय देखि राप्रपाको नेता र राजा विरेन्द्रको समेत दाहिने हातजस्तै भएर काम गर्नुभयो, अहिले कम्युनिष्टहरुलाई समर्थन गर्दा अफ्ठ्यारो लाग्दैन ? भन्ने प्रश्नमा उनले भने– ‘जनता अव जसले विकास गर्छ उसैका पछाडी लाग्ने भएकाले जनता संगै आफु पनि पछाडी लागेको हुँ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसलाई समर्थन गरेको छ र त्यसका नेता तपाई कै छोरा भरतबहादुर चन्द हुनुहुन्छ, छोरा रिसाउलान् भन्ने लाग्दैन ? भन्ने अर्को प्रश्नमा पुराना नेता चन्दले भने– ‘मैले हिजोदेखि अहिलेसम्म आफैं निर्णय गर्ने गरेको छु । पञ्चायतकालमा मालमोत कार्यालयको हाकिमको जागिर छाडेर जिविस सभापतिको चुनाव लड्दा पनि न जागिर न जनप्रतिनिधि होलास् भनेर सुझाव दिन्थे तर मैले आफै निर्णय गरेर चुनावमा उठेको हुँ र सफल पनि भएँ , त्यसैले म आफै निर्णय गर्छु र यसपाली भोट गोकर्ण विष्टलाई दिने निर्णय गरेको छु । ’

कमेन्ट गर्नुहोस्