जाजरकोटमा मतपेटिकालाई लक्षित गरी बम विस्फोट, एक जना घाइते

जाजरकोट, मंसिर ११ । आइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट गराएको छ ।

आज बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो । विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

कुशे गाउँपालिका–१ को रोलखोला भन्ने ठाउँमा बम विस्फोट भएको हो । एकजना सहयोगी सामान्य घाइतेबाहेक अन्य कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक रिमालले जनाउनुभयो । मतपेटिका पनि सुरक्षित रहेको र बेलुकासम्ममा सदरमुकाम पुग्ने उनले बताए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । गत शुक्रबार मात्रै सोही वडाका वडाध्यक्ष गोपाल नेपालीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: