गाेरखामा सबैकाे चासाे, मतपेटिका राखिएको ठाउँमा तीनवटा ताला

गोरखा, मंसिर ११ । गोरखा जिल्लाको आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपेटिका राखिएको ठाउँमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतगणना भने आगामी मंसिर २१ गते साँझ ५ बजेपछि सुरु हुने छ ।

प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखामा २ सय ८२ वटै मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टर र सवारीसाधनमार्फत सदरमुकाम ल्याइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतपेटिकालाई तीनवटा सुरक्षा घेराभित्र राखिएको छ । बाहिरी घेरामा तारबार र मतपेटिका राखिएको सबै ढोकामा ताल्चा र लाहा छापसमेत लगाइएको छ। क्षेत्र नं १ को मतपेटिका महिला तथा बालबालिका कार्यालयको विभिन्न कोठामा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक गरेर छुट्टाछट्टै राखिएको छ ।

त्यस्तै, क्षेत्र नं २ को भने जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ। ‘मतपेटिका राखिने ठाउँमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाका तीनवटा घेरामा बनाइएको छ । पहिलो घेरामा जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको छ । उनीहरुले २४सै घण्टा सुरक्षा दिइरहेका हुन्छन्।’

मतपेटिका राखिएको कोठामा ताल्चा र बाहिर तारबार

दुवै क्षेत्रको मतपेटिका राखिएको कोठाको एउटा ढोकामा तीन वटा ताल्चा लगाइएको छ। ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयले एउटा ताल्चा लगाउँछ’ जिल्ला सुरक्षा समितिका प्रमुख प्रजिअ बस्नेतले भने, ‘अनि बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनले एकएक वटा गरी जम्मा तीनवटा ताल्चा लगाइएको छ।’

त्यस्तै, क्षेत्र नं। १ को मतपेटिका राखिएको महिला तथा वालवालिकाका कार्यालय परिसर वरपर तारबार लगाइएको छ । मतपेटिका राखिएको कक्षबाहिर राजनीतिक दलका एक÷एक जना प्रतिनिधि पनि बस्न पाउने व्यवस्था गरिएको बस्नेतले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: