हेलिकप्टर चढ्न प्रतिनिधिबीच विवाद, मतपेटिका नलिई हेलिकप्टर फिर्ता

बझाङ, मंसिर ११ । राजनीतिक दलका प्रतिनिधिबीच हेलिकप्टर चढ्ने विषयमा विवाद भएपछि मतपेटिका लिन काँडा गाउँपालिका पुगेको हेलिकपटर मतपेटिका नलिई फर्किएको छ ।

मतपेटिका संकलन गर्न गएको हेलिकप्टरमा आफूहरु पनि चढ्न पाउनुपर्ने माग दलका मतदान प्रतिनिधिले राखेका थिए । ६ जना मात्र चढ्न मिल्ने हेलिकप्टरमा ठाउँ अभाव भएका कारण क्याप्टेनले दलका सबै प्रतिनिधि नअटाउने बताएपछि विवाद बढेको थियो ।

काँडा गाउँपालिकामा पाँचवटा मतदान केन्द्र छन् । काँडाको धलौन माध्यमिक विद्यालय मतदान स्थलमा रहेका दुईवटा मतदान केन्द्रका ६ वटा मतपेटिका र दुई जना मतदान अधिकृतलाई लिएर हेलिकप्टर काँडा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेको थियो ।

हेलिकप्टरमा एक जना मान्छे र तीनवटा मतपेटिकाको लागि मात्र ठाउँ भएपनि दलका प्रतिनिधिले कि त हामीलाई पनि हेलिकप्टरमा लैजानु पर्छ हैन भने मतपेटिका सहित सबै हिंडेर जानुपर्छ भनेपछि विवाद बढ्दा हेलिकप्टर त्यसै फर्किएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्