Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चुनावी चर्चा र सेती अञ्चल अस्पताल

कैलाली, मंसिर १२ । लामो समयदेखि बेड अभाव समस्या झेली रहेको धनगढीस्थित सेती अञ्चल अस्पतालले बल्ल ३ सय बेड प्राप्त गर्ने भएको छ । ३ सय बेडमा स्तरोन्नति गर्ने भनेर केही दिनअघि मात्रै मन्त्री परिषद्ले निर्णय गरेको हो । बेड अभावमा बिरामीले सहजै उपचार सेवा नपाइरहेको बेला सरकारले यो निर्णय गर्नु निकै खुसीको कुरा हो । ढिलै भएपनि सरकारले यहाँका जनतामा खुशीको संचार ल्याउन सकेको छ । तर, निर्णय कार्यान्वयन हुन कतिवर्ष लाग्ने हो भन्ने चिन्ता भने कायमै छ । एउटा सरकारले निर्णय गर्ने अनि अर्को सरकारले स्थगित गर्ने परिपाटी नै बसेको हुनाले यस्तो चिन्ता जनतामा हुनु स्वभाविक नै हो ।

विभिन्न समस्याले ग्रस्त अस्पताल सुधारका लागि विगतमा पनि थुप्रै नेताले आश्वासन दिएका भएपनि काम भने गर्न सकेका थिएनन् । तर, शेरबहादुर देउवा नेतृत्व सरकारले अस्पतालको लागि यति काम गर्नु यहाँका जनताका लागि ठूलै उपलब्धी मान्न सकिन्छ । अस्पतालको बेड अभाव मात्रै समस्या छैन । अझै थुप्रै समस्या छन् । ती समस्या समाधानका लागि पहल भएपनि ठोस काम हुन सकेका छैनन् । यसका पछाडी थुप्रै राजनीतिक स्वार्थ लुकेका छन् । ती कारण भनी साध्य छैनन् ।

अहिले प्रदेश र प्रतिनिधि सभाको चुनावको रौनक चौतर्फी छ । जहीँतहीँ चुनावकै चर्चा चलिरहेको छ । चिया चौतारोदेखि मेलापातसम्म चुनावकै कुराकानी भइरहेका छन् । कसले बाजी मार्ला कसले हार्ला भन्ने पूर्वानुमान शुरु भइसकेका छन् । आफू समर्थित उम्मेदवारले जसरी पनि जित्नुपर्छ भनेर कार्यकर्ता पनि जोडतोडका साथ सक्रिय छन् । अझै मेसो मिलाएर उम्मेदवारहरु पनि विभिन्न स्वार्थ प्रस्तुत गरिरहेका छन् । उचित मौका छोपी उनीहरु जनताको मन जित्ने कोसिस गर्ने ध्याउन्नमा छन् ।

राजनीतिमा जम्न उम्मेदवारहरु तत्काल गर्न सकिने काम सम्पन्न गर्न पनि पछि हटि रहेका छैनन् । चुनावमा भोट बटुल्न उनीहरु समस्या समाधान हुने ठाउँमा फोन सम्र्पक गर्न व्यस्त छन् । चुनावमा उम्मेदवारको एक मात्रै उद्देश्य जसरी भएपनि भोट आफ्नो पक्षमा पार्नु पर्छ भन्ने छ । त्यहीअनुसार उनीहरु जनतासँग मत मागिरहेका छन् । भोट बटुल्न बिपक्षी पार्टीका कार्यकर्ता आफ्ना पार्टीमा प्रवेश गराउने त होडबाजी नै चलेको छ । पैंसा दिएर हुन्छ या कुनै ठाउँमा जागिर दिएर हुन्छ उम्मेदवार आफ्नो तिर भोट तान्न निकै कसरतमा छन् ।

प्रदेश नं.७ को सबैभन्दा बढी चर्चाको क्षेत्र कैलालीको धनगढी पनि एक हो । यो ठाउँ निर्वाचन क्षेत्र नं.५ अन्र्तगत पर्ने गर्दछ । संविधान सभाको निर्वाचनमा वर्तमान प्रधामन्त्री देउवा विजयी भएका थिए । त्यस बेला धनगढी निर्वाचन क्षेत्र नं.६ अन्र्तगत पर्ने गर्दथ्यो । दुवै ठाउँबाट विजयी भएपछि देउवाले धनगढी छोडेका थिए ।

त्यसपछि भएको उपनिर्वाचनमा कांग्रेसकै पुष्करनाथ ओझा निर्वाचित भए । स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार बनेका नृपबहादुर वड विजयी भएका छन् । आसन्न प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि कांग्रेसले नै बाजी मार्ने धेरैले आंकलन गरेका छन् । किनकी यो क्षेत्रबाट प्रधानमन्त्री देउवा पत्नी आरजु राणा चुनाव लड्दै छिन् । हुन त यो क्षेत्रलाई कांग्रेसकै किल्ला भनेर हल्ला भएकाले अधिकांशमा कांग्रेस नै जित्ने अड्कल छ ।

यो निर्वाचन क्षेत्रको चुनावी रौनक अहिले उत्कर्षमा पुगेको छ । प्रतिनिधि सभाका लागि कांग्रसकी उम्मेदवार राणा र बाम गठबन्धनबाट उम्मेदवार बनेका नारदमुनी राना चर्चामा छन् । उनीहरुबीच कडा टक्कर हुने भएकाले चुनावी भिडन्त हेर्न मतदाता मंसिर २१ को बेग्र प्रतिक्षामा छन् । राणा आफ्ना श्रिमान्ले यो क्षेत्रको विकासका लागि निकै ठूला काम गरेको र आफू पनि शिक्षीत महिला भनेर भोट मागि रहेकी छिन् भने रानाले बाम गठबन्धनको उम्मेदवार, यहाँकै स्थानीय बासिन्दा भन्दै महत्वकांक्षी एजेण्डाका साथ चुनावी प्रचारप्रसारमा छन् ।

मतदाता पनि सचेत भएकाले दुबै उम्मेदवारको क्षमता पहिचान गरि रहेका छन् । कसलाई विजयी गराएमा यहाँको विकास हुन्छ भनेर निकै मूल्यांकन गरि रहेका छन् । दुवै उम्मेदवारको बारे नकारात्मक टिप्पणी पनि बजारमा प्रशस्त सुन्न पाइन्छन् । आरजुप्रति टुरिष्ट उम्मेदवार, विगतमा यहाँका लागि ध्यानै नदिएकी, यहाँका समस्या नबुझेकी, जितेपछि फर्केर अनुहार नदेखाउँने जस्ता टिप्पणी तेर्सिएका छन् । यता बाम गठबन्धनबाट उम्मेदवार बनेका रानालाई रातो पासपोर्ट विक्री गर्ने, एक पटक सांसद भएपनि खासै काम नगरेको, केन्द्रसम्म राम्रो पहुँच नभएको भन्ने आरोप लागि रहेका छन् ।

दुवै उम्मेदवारबारे सकारात्मक टिप्पणी पनि सुन्न पाइन्छन् । उम्मेदवार आरजुबारे प्रधामन्त्री तथा कांग्रेस सभापति देउवा उत्नी भएकाले राम्रो पहुँच बनाएकी, शिक्षीत, महिला भएकीले विजयी गराउनु पर्छ भन्ने एकथरी मत छ । भने, यही कै स्थानीय, युवा, थारु समुदायको व्यक्ति भएकाले निर्वाचित गर्नुपर्छ भन्ने अर्कोथरिको मत छ ।

यी दुवै उम्मेदारको प्रचारप्रसार व्यापक बनेको छ । यहि मेसोमा उनी दुवै उम्मेदवारले विजयी भएपछि नमूना सेती अञ्चल बनाउने भन्दै गफ दिइरहेका छन् । चुनावका बेलामात्रै निकै चर्चामा आउने अञ्चलको अवस्था विजयी भएपछि कमैले बुझ्ने गरेका छन् । तर, चुनावमा मतदाताको विश्वास जित्नका लागि अञ्चल अस्पताल अहिले उम्मेदवारका लागि गतिलो प्रयोगशाला भएको छ । चुनावका बेला मात्रै अस्पतालको स्तरोन्नति गर्छु भनी उम्मेदवारको भाषण गर्ने बानी भएका कारण यसको अस्थामा परिर्वतन लागेको छ ।

नेताहरुले चुनावका बेलामा मात्रै अस्पतालको बारेमा आवाज उठाउने गरेका छन् । जब चुनाव नजिकिन्छ अनि मात्रै अस्पताल चर्चामा आउँछ । अहिले पनि अस्पताल चर्चाको शिखरमा चुलिएको छ । धनगढीबाट उम्मेदवारी दिएका अधिकांश उम्मेदवारको घोषणा पत्रमा अस्पतालको स्तरन्नतीका लागि विकास गर्ने भनेर प्रतिवद्धता लेखिएका छन् । तर, उम्मेदवार विजयी भए पछि भने ती प्रतिवद्धता कागजमा मात्रै सिमीत हुने छन् । यस्तो कार्य विगतमा पनि दाहोरिएका कारण सहजै अनुमान गर्न सकिन्छ ।

अहिले अस्पतालकै बारेमा चर्चामा आएको विषय हो अस्पताल शैया । सरकारले चुनावको मुखमा मात्रै किन त शैया थप गर्यो त ? भनेर अधिकांश प्रश्न गरि रहेका छन् । यसको जवाफ पनि उनीहरु नै दिइ रहेका छन् । उनीहरु भनी रहेका छन्, ‘आफ्नो पत्नी जसरी पनि विजयी गराउन देउवाले चुनावको मुखमा यस्तो निर्णय गरेका हुन् । यसो नभए देउवाले यस अघि यस्तो काम किन गर्न सकेनन् त ?’ स्थानीय तथा बिपक्षी दलहरुका कार्यक्रतामा यस्तो आशकां लाग्नु स्वाभाविक पनि होला । तर कांग्रेसबाट उम्मेदवार बनेकी राणा भने यस्तो आरोपलाई ठाडै अस्विकार गछिन्, ‘कुनै स्वार्थ नहेरेर यहाँकै स्वास्थ्य विकासका लागि सरकारले यो निर्णय गरेको हो,’ उनी भन्छिन् ।

खैर, जे जस्तो भएपनि विकास हुनु नै पर्छ । तर, निरन्तर । यस्तै उम्मेदवार राणाले आफ्नो पहलमा अस्पतालमा शैया थपिएको भनेर हरेक जसो चुनावी सभामा बोल्दै मत बटुल्ने गतिलो उपाय बनाइरहेकी छिन् । उनले केही दिन अघि अस्पतालको निरक्षण गर्ने बित्तिकै अस्पतालको शैया थपले सबैमा यस्तै भ्रम पनि फैलिएको छ । चुनावको बेला जे गर्न पनि तयार हुने नेताको बानीलाई अब मतदाताले हत्पत्त पत्याइ हाल्नु हुन्न ।

नेताको बानी बढी बैइमानी । उनीहरु चुनाव जित्छन् चटक्कै माया मार्छन् । विगतले पनि यही देखाउँछ । उनीहरु विजयी हुन्छन् अनि फर्किदैनन् सबैका साँझा प्रश्न ? किन उनीहरु यस्तो कार्य गर्छन् त ? किन उनीहरु यति स्वार्थी हुन छन् त ? यस्ता यावत प्रश्नप्रति जनता अनविज्ञ हुँदा हरेक चुनावमा गतिलो उम्मेदवार चयन हुँदैन । जसले गर्दा सेती अञ्चल अस्पताल मात्रै होइन हरेक विकास निर्माणका कार्य समयमै बन्न सकेका छैनन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: