‘विकास र समृद्धिको नेतृत्व प्रचण्डले गरोस् भन्ने जनताको चाहना छ’

रत्ननगर (चितवन), मंसिर १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धि नेतृत्व प्रचण्डले गरोस् भन्ने जनताको चाहना रहेको बताएका छन ।

चितवनको भरतपुरमा मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्र र नेपाली जनताको हितमा गर्ने गरेका साहसिक निर्णयको परिणामकै आधारमा अहिले जनताले यस्तो चाहना गरेको दाबी गरे ।

चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले जनताको भावना पूरा गरेर छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे । एउटा नेताले विद्रोह, शान्ति प्रक्रिया, संविधान निर्माण र लोकतान्त्रिक प्रक्रियाको पनि नेतृत्व गर्ने अवसर कमैलाई हुने भन्दै उनले आफूले त्यस्तो भूमिका खेल्ने अवसर प्राप्त गरेको भन्दै खुशी व्यक्त गरे ।

राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन अहिलेको आवश्यकता भएको भन्दै अध्यक्ष प्रचण्डले अहिलेसम्म आफूले काँग्रेसलाई धोका नदिएको बताए । उनले वाम एकताको घोषणा अगाडि प्रधानमन्त्री देउवालाई जानकारी गराएर आएको समेत बताए । अहिले पनि सरकारमै रहेकाले आगामी समयमा पनि काँग्रेससँग सहकार्य हुने प्रचण्डको भनाइ थियो ।

सिद्धान्त र विचार मिल्नेसँग सहकार्य गर्नु जरुरी रहेको उनले बताए । अहिले चितवनमा चुनावी अभियानमा हिँड्दा जनताको चाहना सडक कालोपत्र बनोस्, जंगली जनावरबाट सुरक्षाको ग्यारेन्टी र नारायणी राप्ती तथा रिउ नदीको तटबन्ध खोजेको बताए । यी समस्या समाधान गर्ने भन्दै उनले चितवनका सचेत जनताको अभिमत लिएर राष्ट्रकै नेतृत्व गर्ने बताए ।

उनले चितवनलाई एशियाली मापदण्डको शहरका रुपमा विकास गर्ने योजना आफूले बनाएको उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्