Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पेम्बाको ‘विश्व रेकर्ड’ सर्वोच्चबाट खारेज

काठमाडौं, मंसिर १३ । सबैभन्दा छोटो समयमा सगरमाथा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको भनिएका आरोही पेम्बा शेर्पाको कीर्तिमान सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्चका न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आठ घन्टा १० मिनेटमा सगरमाथाको चुचुरो चुमेको कुनै आधार नभएको भन्दै पेम्बाको कीर्तिमान मंगलबार खारेज गरेको हो।

मन्त्रिपरिषद्ले समेत कीर्तिमान कायम गरेको भनी निर्णय गरे पनि कुनै आधार प्रमाण नभेटिएकाले अदालतले पेम्बाको दाबी खारेज गरी लाक्पा गेलुको पक्षमा फैसला सुनाएको उनका वारेसनामा खोजिन्द्रप्रसाद घिमिरेले जानकारी दिए। सन् २००४ मे २१ मा पेम्बा दोर्जी शेर्पाले आधारशिविरदेखि चुचुरोसम्म सबैभन्दा छिटो पुगेको झुटो प्रमाण पेस गरी प्रमाणपत्र लिएको दाबीसहित लाक्पा गेलु शेर्पाले सर्वाेच्चमा रिट दिएका थिए।

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३० सँग सम्बन्धित अनुसूची ११ बमोजिम सम्पर्क अधिकृतले पेस गर्र्ने प्रतिवेदनमा सोही अनुसूची २३ अनुसार पर्वतारोहीले यात्रा गरेको महत्वपूर्ण ठाउँको फोटो, पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको आधारशिविरको फोटो, पर्वतारोही दलको नेताको प्रतिवेदन नभएकाले इजलासले रिट खारेज गरेको हो।

प्रमाणबिनै पर्यटन विभागले आरोहण गरेको प्रमाणपत्र दिएको दाबी गेलुको थियो। नियम ३१ को अनूसूची १२ बमोजिम पर्वतारोहण दलका नेताले पेस गर्नुपर्ने प्रतिवेदनमा आधारशिविर भन्दामाथि गएका सदस्यको संख्या उल्लेख गर्नुपर्ने व्यवस्था भए पनि नगरेको पाइएको छ। आरोही पेम्बा दोर्जी शेर्पाले सगरमाथा शिखरमा पुगेको फोटोसमेत सम्पर्क अधिकृतले पेस नगरेको अदालतको ठहर छ। शिखर आरोहण देख्ने साक्षी कोही छैन। पेम्बा दोर्जीको सगरमाथा आरोहण गरेकोे देखेको वा त्यस्तो व्यहोरा प्रतिवेदनमा उल्लेख छैन।

आरोहण गरेको भनी मन्त्रालयको मिति २०६१÷०५÷२९ को निर्णय तथा २०६१÷०५÷३१ को प्रेस विज्ञप्तिमा समेत सगरमाथा शिखरमा पुगेको तस्बिर र साक्षीजस्ता ठोस प्रमाणबिना नै हचुवाका आधारमा प्रमाणित गरेको अदालतले ठहर गरी पेम्बाको कीर्तिमान खारेज गरेको हो। पेम्बाले गिनिज बुकमार्फत विश्व कीर्तिमान कायम गरेको प्रमाणपत्रसमेत लिइसकेका छन्। सरकारले कीर्तिमान प्रमाणपत्र सहज तरिकाले वितरण गर्दा नेपालको साहसिक क्षेत्रमा नकारात्मक सन्देश पुगेको जानकारहरूको गुनासो छ।

आरोहणमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) अनिवार्य गर्न आरोहीले माग गरे पनि पर्यटन विभागले आलटाल गर्दा यो अवस्था आएको पर्वतारोही लाक्पा शेर्पाको आरोप छ। सन् २००४ मे २१ मा सगरमाथा शिखरको क्षेत्रमा ज्यादै खराब मौसम भएको कारणबाट दक्षिण मोहोडा नेपालको सोलुखुम्बु वा उत्तर मोहोडा चीनको तिब्बत क्षेत्रबाट कसैले पनि पर्वतारोहण नगरेको नेपालमा बसेर सन् १९६३ देखि पर्वतारोहणसम्बन्धी अध्ययन गर्ने अमेरिकी अल्पाइन क्लबले जनाएको छ।

झुट्टा एवं काल्पनिक विवरण पेस गरी कीर्तिमान कायम गरेको पेम्बा मात्र नभएर अन्य कीर्तिमानीसमेत रहेको पर्वतारोही नै बताउँछन्। यो घटनाले पैसाले कीर्तिमान किन्ने गरिएको प्रमाणित भएको पर्वतारोहण क्षेत्रका जानकारले दाबी गरे। सन् २०१६ मे २३ मा भारतीय प्रहरी सेवामा कार्यरत दिनेश राठोड र निजकी श्रीमती तारकेश्वरीले नक्कली तस्बिर प्रयोग गरी सगरमाथा आरोहणको दाबी गरी पर्यटन विभागबाट प्रमाणपत्र लिएका थिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: