Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी – ओली

भद्रपुर, मंसिर १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा संयुक्त प्रचारप्रसार समितिद्वारा बिहीबार झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत झापा चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

पूर्वप्रधानमन्त्री एवं झापा निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमाले अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी बलियो भएकै कारण नेपालको संविधान जारी भएको प्रष्ट पारे ।

मुलुकलाई समृद्धिको बाटोमा लैजान उपलब्ध प्राकृतिक सम्पदाको उच्चतम प्रयोग गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, मुलुकलाई औद्योगिकीकरण गर्ने र सूचना प्रविधिलाई विकास एवं विस्तार गर्ने हाम्रो राष्ट्रिय एजेण्डा भएको बताउँदै नेता ओलीले विविधता र अनेकतामा रहेको हाम्रो मुलुकलाई एक सूत्रमा बाँधेर अघि बढ्ने विश्वास दिलाए ।

उनले वाम गठबन्धनका तर्फबाट झापा प्रत्येक निर्वाचन क्षेत्रमा बनेका उम्मेदवारलाई इमानदारीपूर्वक मत हाल्न गठबन्धनमा आबद्ध सबैलाई आग्रह गरे ।

सो अवसरमा नेकपा माओवादी केन्द्र स्थायी कमिटीका सदस्य एवं झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राम कार्की (सुरेन्द्रकुमार कार्की) ले आसन्न निर्वाचनले जनताको भविष्य निर्धारण गर्ने भएकाले जनताको काम गर्ने पार्टीका उम्मेदवारलाई आम नागरिकले जिताउनुपर्ने बताए ।

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं राप्रपाका महामन्त्री राजेन्द्रकुमार लिङ्देनले विगतमा नभएका विकास आफूले पाँच वर्षमै गरेर देखाउने र नसके फेरि पनि जनताको अगाडि मत माग्न नआउने बताए ।

सभामा झापा निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (क) का वसन्त बानियाँ र (ख) का पूर्णसिंह राजवंशीले असल समाज निर्माण गर्न र विकासको गतिलाई तीव्र पार्न वाम गठबन्धनको उम्मेदवारलाई मत हाल्न आम जनतालाई आग्रह गरे ।

आयोजक समितिका संयोजक पुष्पराज पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वसांसद हरि राजवंशी, मोहन टुडु र राप्रपाका नवराज पनेरुले पनि बोलेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: