युद्ध पत्रकारदेखि संसद भवनको बाटोसम्म

काठमाडौं, मङ्सिर १८ । तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा लागेर सशक्त युद्ध पत्रकारका रुपमा चिनिएकी रामकुमारी श्रेष्ठ (रुवी) नेकपा माओवादी केन्द्रको तर्फबाट ३ नम्बर प्रदेशको प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेकी छिन् । जनयुद्धका बेला पत्रकारिताका साथै युद्धका बिभिन्न मोर्चामासमेत प्रत्यक्ष सहभागी भएकी रुवी महिला अधिकारका क्षेत्रमा समेत सक्रिय छिन ।

समानुपातिक संसद्को सिफारिसमा परेर अहिले चुनाव प्रसारमा हिडिरहेकी रुवी १० वर्षे जनयुद्धमा माओवादीले संचालन गरेका बिभिन्न पत्रिका र रेडियोमा काम गर्थिन । जनयुद्धको कठिन परिस्थितिमा डोकोमा रेडियो बोकेर हिडेको याद आज पनि ताजै रहेको बताउँछिन् उनी ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पत्रकारिता र राजनीतिलाई सँगसँगै अगाडी बढाएकी रुवी आफू निःस्वार्थ भावनाले आन्दोलनमा सहभागी भएको बताउँछिन् । उनी भन्छिन, ‘म कुनै लाभको पदमा पुगौला भनेर आन्दोलनमा लागेकी थिइन् । माओवादी आन्दोलनले उठाएका जनताका मुद्धा जनतासम्म पुर्याउनु पर्छ भन्ने लागेर नै युद्धको कठिन अबस्थामा पनि पत्रकारितामा लागेको हुँ ।’

पहिलो संबिधान सभा निर्वाचनमा पनि समानुपातिक उम्मेदवारका रुपमा उनको प्रचार भएको थियो । तर, पछि उनी उम्मेदवार बन्न सकिनन् । रुवी भन्छिन, ‘त्यतिबेला पार्टीको आन्तरिक समिकरण मिलाउन म पछि हट्नुपर्ने भयो मैले सहज रुपमा स्वीकार गरे ।’ रुवीसँग मिर्मिरे रेडियो, हेडलाइन्स एफएम, सगरमाथा टेलिभिजन, नेपाल टेलिभिजन र रेडियो नेपालमा काम गरेको अनुभव छ ।

भक्तपुरमा जन्मेकी रुवी जानी नजानी ९ बर्षको उमेर बाटै राजनीतिमा लागेकी हुन् । त्यतिबेला उनी पार्टीले आयोजना गरेका बिभिन्न कार्यक्रमहरुमा सास्कृतिक प्रस्तुतिहरु दिने गर्थिन् । राजनीतिमा परिपक्क भएसँगै पत्रकारितामा पनि लागेकी उनको राजनीतिक र पत्रकारिताको खास यात्रा एकै पटक सुरु भएको भन्दा पनि हुन्छ ।

संसार बदल्ने अठोट र संकल्पका साथ माओवादी आन्दोलनमा लागेकी उनको आफ्नै जीवन भने निकै दर्दनाक छ । आन्दोलनमै लागेका उनका परिवारका ३ जना बेपत्ता छन् । आन्दोलनमा लागेर आफु जस्तै हजारौले परिवारका सदस्य गुमाएको भन्दै उनी भन्छिन,’ माओवादी आन्दोलन समाज परिवर्तनका लागि थियो, परिवर्तनको यात्रामा लामबद्ध हुँदा कयौ सहिद, बेपत्ता र घाइते भएका छन् । सहिद–बेपत्ताले देखाएको बाटोमा आफु अविछिन्न लागि रहने प्रण गर्दै उनि भन्छिन, ‘सहिदका सपना पूरा गर्न पनि म आफै उम्मेदवार बन्नु पर्छ भन्ने लागेर उम्मेदवार बनेकी हुँ ।’

ललितपुर जिल्लाबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएकी रुवी सहिद, बेपत्ता परिवारलाई न्याय दिलाउन आफू सदैव लडिरहने बताउछिन् । आफू संसद भए निःस्वार्थ भावनाले पिडित परिवारका पक्षमा लाग्ने उनको संकल्प छ । ललितपुर जिल्लाको चुनावी अभियानमा हिडिरहेकी उनले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ३ नम्बर प्रदेशको सन्तुलित विकासका लागि आफू कटिबद्ध रहने बताएकी छिन् ।

युवा स्वरोजगारका लागि उत्पादनमुलक सिप विकास र औधोगीकरणक लागि भूमिका खेल्ने, स्वछ, सुन्दर र सफा नगर निर्माणका लागि काम गर्ने उनले प्रतिबद्धता पत्रमा समेटेकी छिन् । महिला माथि हुने सबै प्रकारका उत्पीडन र हिँसा अन्त्य गर्न ठोस कार्यक्रम ल्याउनुका साथै लैंगिक समानताको कार्यक्रम बनाइ कार्यान्वयन गर्ने कुरालाई उनले प्राथमिकतामा राखेकी छिन् ।

श्रमजीवी पत्रकारहरुले भोग्नु परेको पिडा आफुले पनि भोगेको बताउदै पत्रकारहरुको हकहित र अधिकार स्थापित गराउन आफुले नेतृत्वदायी भूमिका खेल्ने उनको अर्को संकल्प छ ।

कमेन्ट गर्नुहोस्