रुखको कथा

चौतारीमा एउटा रुख थियो । हरियो रुखले झपक्कै चौतारी ढाकेको थियो । बटुवाहरु यहि चौतारीमा बिसाएर सितल ताप्थे र आनन्द मान्थे । माथि हाँगामा विभिन्न प्रजातीका चराहरुले गुँड बनाए, बचेरा कोरले । रंगीचंगी चराहरुको आवाजले परसम्मको वातावरण सुमधुर बनाउँथ्यो ।

यो वातावरण देखेर गिद्धहरुपनि त्यहि अग्लो रुखमा आएर बास बस्न थाले । त्यहिं गुँड बनाए । साना चराहरुलाई ठुँग्ने, लखेट्ने, बचेरा मारिदिने गर्न थाले । बाँदरहरु पनि त्यहि रुखमा आए । फल खाए, झारे । फूल चुँडेर नष्ट गरे । रुखका हाँगा जथाभावि उफ्रिएर भाँचिदिन थाले ।

रुखको फेदमा सित्तल चौतारी थियो । बटुवाहरु भारी बिसाउँथे, एक निन्द्रा मस्त निदाउँथे । यो आनन्दको वातावरण देखेर केही लोभीपापीहरुले चौतारीलाई नै बासस्थान बनाए । तिनै रुखका हाँगा छिमोले, लहलहाउँदा स्याउला काटेर घर पो बनाए । रुख लोपी पापीहरुको अड्डा भयो, सक्दो फाईदा लिए । विस्तारै चौतारी सुनसान हुन थाल्यो ।

एकातिर रुखको जरैदेखि आवादी बढ्दै थियो, अर्कातिर चर्को घामले ओइलाउँदै गयो । केही सचेत नागरिकले रुख बनाउन अतिक्रमण बन्द गराउने र मलजल गर्ने अभियान पनि नचलाएका होईनन् तर घाम झनै चर्कियो । एकदिन घामले मात्र रुख सुकाउन नसकेपछि हँसिया र हथौडालाई साथी बनायो । त्यसपछि माथिबाट घामले ताप फ्याक्ने र तलबाट हँसिया र हथौडा मिलेर रुखका बोक्रा उक्काउन थाले ।

रुख सुक्दै गयो तर पहिला रुखबाट फाईदा लिन तम्सिनेहरु टुलुटुलु हेरिबसे । विचरा केही चराहरु अहिलेपनि रुख फेरि पहिला जस्तै हरियो हुने आशामा हाँगामै गुँड बनाएर बसिरहेका छन् । गाउँलेहरु भन्न थाले अब यो रुख बुढो भयो, काटेर दाउरा बाल्नु पर्छ, काठ चिर्नु पर्छ र त्यो चौतारीमा नयाँ विरुवा रोप्नुपर्छ । (copy)

तर थाहा छैन, कसले गर्ने हो यो काम ।

कमेन्ट गर्नुहोस्