गलत प्रचार गर्ने साथीहरुलाई म केही भन्न चाहान्नः अध्यक्ष प्रचण्ड

भरतपुर मंसिर २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीलाई अधिनायकवाद वा निरंकुशतन्त्र भन्ने दलका नेताको भनाई गलत भएको बताए ।

‘यस्ता गलत प्रचार गर्ने साथीहरुलाई म केही भन्न चाहान्न,’ अध्यक्ष दाहालले भने, ‘यो कुरा भोली गलत सावित हुने नै छ । हामी संघिय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म भावना विपरित जाने छैनौं र त्यही अनुसार नेतृत्व दिन्छौं ।’

नेपाल पत्रकार महासंघ चितवन शाखाले बिहीबार भरतपुर गार्डेन रिसोर्टमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘वाम गठबन्धनले जितेपछि अर्को केही हुन्छ भन्ने गलत प्रचार गरिएको छ । वामपन्थी नै पहिलो लोकतन्त्रवादी हो भन्ने नेपालको इतिहासमा सावित भइसकेको छ ।’

दाहालले वामपन्थि नै जनपक्षिय भएको दाबि गरेका छन् । ‘प्रेस स्वतन्त्रताको पक्ष र कानुनी राज्यको पक्षमा दृढता साथ उभिएको भन्ने प्रमाणित भइसकेको छ,’ उनले भने– ‘आगामी दिनमा अझ राम्रोसँग प्रमाणित हुने छ ।’ उनले विश्वस्त रहन आग्रह गरे ।

कार्यक्रममा निकै प्रशन्न मुद्रामा देखीएका दाहालले छोटो समय बोलेका थिए । घर दैलो कार्यक्रम गर्न जानुपर्ने भन्दै उनले कार्यक्रममा थोरै बोलेर बाहिरिएका थिए । महासंघले प्रतिनिधि तथा प्रदेशसभामा विजयीलाई सम्मान गरेको थियो । चितवनका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले जितेको छ ।

‘हामीले राजनीति स्थायित्व र आर्थिक विकासको एजेण्डालाई प्रमुखता दिएर नै वाम गठबन्धन बनाएका हौं,’ उनले भने– ‘जनताले त्यसलाई बढो सम्मानका पूर्वक सम्बोधन गरेको स्थिति छ । अब साँच्चिकै राजनीतिक स्थायीत्व प्रदान गर्ने आर्थिक विकास र समृद्धीको नयाँ यात्रा तर्फ देशलाई डोर्‍याउनुपर्छ ।’

भष्ट्राचार देशमा एउटा महारोग भएको दाहालको तर्क थियो । ‘अब भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ । जनताको प्रमुख आकांक्षा पनि यही हो,’ उनले भने– ‘यसका लागी लामो समयदेखि जनताले संघर्ष गरिरहेका छन् । भष्ट्राचार नियन्त्रणका लागी हामीले संकल्प पनि गरेका छौं ।’

उनले स्थायित्व र समृद्धि दिन्छौं भन्ने जनताको अगाडी बोलेका बताए । त्यही आधारमा जनताले वाम गठबन्धनलाई जिताएको दाहोर्‍याए । यतिबेला जिम्मेवारी थपिएको र यसलाई गम्भिरताका साथ पुरा गर्ने दायित्व वाम गठबन्धनको काँधमा आएको उनले स्पष्ट पारे ।

‘हामी समृद्ध नेपाल बनाउन खरो रुपमा उत्रने छौं,’ उनले भने, ‘जन अपेक्षा अनुसार र जनता सामु गरिएको प्रतिवद्धता अनुसार काम गर्ने छौं ।’

गठबन्धनलाई सिंगो अन्तर्राष्ट्रिय जगतले बढो गम्भिरता पूर्वक हेरेको दाहालले बताए । ‘अब के होला भन्ने छ । खास गरी छिमेकी राष्ट्रको अब नेपालमा के होला भन्ने तिर गहिरो ध्यान छ भन्ने हामिले बुझेका छौं,’ उनले थपे, ‘संविधानको मर्म र भावना अनुसार काम गर्छौं ।’ चुनावमा हुने सबै खालको अनुभव पहिलो पटक गरेको अनुभव सुनाए ।

‘रोल्पाको चुनावमा एउटा सभा गरेर जिते । काठमाडौंमा पहिलो पटक उठ्दा एक–दुई पटक सभा गरेर जिते । सिराहामा पनि त्यस्तै भयो । चुनाव हुने नहुने भन्ने भन्ने अन्यौलका कारण आफ्नो निर्वाचन क्षेत्र सिराहा त्यति गइन । चुनावको माहौल बनाउनेतिर लागें,’ दहालले कार्यक्रममा सुनाए, ‘यस पटकको चुनावबाट धेरै कुरा सिकें । चितवन आएर जनताको भावना मर्म बुझ्ने मौका मिल्यो ।’ कान्तिपुरबाट साभार

कमेन्ट गर्नुहोस्