नयाँ सरकार बनाउन कुनै संवैधानिक अड्चनले रोक्न सक्दैन : केपी ओली

काठमाडौं, पुस १ । नयाँ सरकार गठन गर्न कुनै संवैधानिक अड्चन नभएको नेकपा एमाले अध्यक्ष केपी ओली शर्माले बताएका छन्।

सरकार गठन र राष्ट्रियसभाको निर्वाचन फरक विषय रहेको भन्दै ओलीले क्षणिक र मौसमी तर्क नगर्न सरकार समर्थित कानुनविदलाई आग्रह गरे।

बालकोटमा शनिबार बिहान आयोजित कार्यक्रममा उनले जनताको अभिमतविपरीत खोँचे थाप्न र बखेडा निकालेर लोकतान्त्रिक अभ्यासलाई विकृत नबनाउन सरकारलाई सचेत गराए।

राष्ट्रियसभा गठन सम्बन्धी विवादमा मर्यादित संस्थाको संलग्नता अनुचित रहेको बताउँदै उनले सो कार्यमा कानुन व्यवसायी, कांग्रेस निकट प्रबुद्ध व्यक्तिको अभिव्यक्ति शोभनीय र उचित नभएको तर्क गरे।

‘निर्वाचनमार्फत स्पष्ट आवश्यक बहुमत आइसकेको छ। जनताको अभिमतमा खोँचे थप्ने, बखेडा निकालेर लोकतान्त्रिक स्वस्थ अभ्यासलाई विकृत बनाउने प्रयास भएको छ,’ ओलीले भने, ‘जनताको अभिमतलाई अस्वीकार गर्ने मनसाय प्रकट प्रयास भएको छ।’

नेपाली कांग्रेसलाई पराजय भोग्नुपरेकोमा चित्त नबुझेको टिप्पणी गर्दै ओलीले कुनै पनि प्रकारका अनुचित कुरासँग नझुक्ने र सम्झौता नगर्ने प्रस्ट पारे।

सरकार गठन र राष्ट्रियसभा गठनको आ-आफ्नै प्रक्रिया भएको ओलीको भनाइ थियो।

कमेन्ट गर्नुहोस्