सर्वाधिक धनराशीको प्रतियोगिता इपिएल आजबाट सुरु हुँदै

काठमाडौं, पुस ३ । सर्वाधिक धनराशीको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबारदेखि शुरु हुदै
छ ।

प्रतियोगतामा ६ टोलीबीच १५ पुससम्म प्रतिस्पर्धा हुनेछ । इपिएलको यो संस्करणमा विजेताले २१ लाख पाउनेछ । नेपालमा हुने क्रिकेट प्रतियोगिताको सर्वाधिक पुरस्कार राशि यही हो । उद्घाटन खेलमा काठमाडौं किंग्स–११ र ललितपुर प्याट्रिओट्सबीच खेल हुनेछ ।

आयोजक इपिएलले प्रतियोगिताको विजेतालाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरेको छ । १२ दिन चल्ने लिगमा १९ खेल हुनेछन् । प्रतियोगितामा काठमाडौं किंग्स–११, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर, पोखरा राइनोज र चितवन टाइगर्सले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ । जित हात पार्ने टोली फाइनलमा पुग्नेछ ।

पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । लिगमा तेस्रो र चौथो हुने टोलबीच एलिमिनेटर खेल हुनेछ । एलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउनेछ ।

कमेन्ट गर्नुहोस्