आठ सय घरधुरीमा चर्पी निर्माण गर्न अझै बाँकी

कैलाली, पुस ३ । कैलालीलाई यहि डिसेम्बर महिनाभित्रै खुला दिसामुक्त घोषणा गर्न चुनौति थपिएको छ । जिल्लामा अझै ८ सय घरधुरीले चर्पी निर्माण गर्न बाँकी रहेकाले खुला दिसामुक्त जिल्ला घोषणा गर्न चुनौति देखिएको हो । खुला दिसामुक्त जिल्ला घोषणा गर्ने अन्तिम मिति आउन अब दुई हप्ता पनि पूरा छैन । यहि डिसेम्भरको अन्त्यमा जिल्लालाई खुला दिसामुक्त गर्ने लक्ष्य लिइएको छ । तर, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीले भने निर्धारित समयमै जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने दाबी गरेको छ ।

जिल्लामा अझ झण्डै आठ सय घर परिवारले चर्पी निर्माण गर्न बाँकी रहेको अवस्था रहेको भए पनि निर्धारित मितिमै कैलालीलाई खुला दिशामुक्त घोषणा गर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीले दाबी गरेको हो । २०१७ को डिसेम्बर अन्तिमसम्ममा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिइएको भए पनि निर्धारित मिति आउन अब दुई हप्ता पनि पूरा छैन । तर, डिभिजन प्रमुख नारायणप्रसाद काफ्लेले भने निर्धारित समयमै जसरी पनि जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने दाबी गरे ।

अहिलेसम्म जिल्लाका १ लाख ५१ हजार ४ सय ९४ घरधुरीले चर्पी बनाईसकेका छन् । जिल्लाका अब विभिन्न पाँच वटा स्थानीय तहका ८ सय घरधुरीले चर्पी निर्माण गर्न बाँकी छ । कैलालीमा १३ वटा स्थानीय तहमध्ये आठ वटा खुला दिसामुक्त भइसकेका छन् भने धनगढी उपमहानगरपालिका, गोदावरी, लम्कीचुहा नगरपालिका र जोशीपुर र जानकी गाउँपालिका खुला दिसामुक्त गर्न बाँकी छ । बाँकी रहेका स्थानीय तहमध्ये जोशीपुरलाई ८ गते, जानकी गाउँपालिकालाई ९ गते र गोदावरी नगरपालिकालाई यहि पुस ११ गते खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । बाँकी स्थानीय तहलाई पनि छिट्टै खुला दिसामुक्त घोषणाका लागि मिति तोक्ने डिभिजन प्रमुख काफ्ले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिका भित्र पर्ने १९ वटै वडा खुला दिसामुक्त भइसकेकाले अब औपचारिक रुपमा मात्रै घोषणा गर्न बाँकी रहेको उपमहानगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख टंक बिष्टले बताए ।

सन् २०१६ भित्रै मुलुकलाई नै खुला दिसामुक्त गर्ने राष्ट्रिय लक्ष्य भएपनि विभिन्न आन्दोलनका कारण लक्ष्य भेटउन सकिएको थिएन । फेरि समय थप्दै २०१७ भित्रै खुला दिसामुक्त गर्ने लक्ष्य राखिएको छ ।

कमेन्ट गर्नुहोस्