काठमाडौं, पुस ४ । भारतीय राज्य गुजरात र हिमाचल दुवै राज्यका विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत हासिल गरेको छ ।
गुजरात विधानसभामा १८२ सिट र हिमाचलमा ६८ सिटको परिणाम सार्वजनिक भइसकेको छ । ती दुवै राज्यमा भाजपाले स्पष्ट बहुमत हासिल गरिसकेको छ। घोषित परिणाममा गुजरातमा भाजपाले ९९ सिट हासिल गरिसकेको छ । कांग्रेसको ७९ सिटमा विजयी भएको छ।
यसैगरी हिमाचलमा भाजपाले ४४ सिट जितेको छ भने कांग्रेसले २१ सिट जितेको छ ।
गुजरातमा विगत २२ वर्षदेखि भाजपा सत्तारुढ छ । उसले आफ्नो बिरासत जोगाउन सफल भएको छ । गुजरातको चुनाव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिष्ठासँग जोडिएको विषय मानिएको थियो । यो राज्य उनको गृहराज्य हो भने त्यहाँको मुख्यमन्त्री हुँदै उनी केन्द्रमा आइपुगेका थिए ।
हिमाचलमा भाजपाले कांग्रेसबाट सत्ता खोसेको छ । हिमाचलमा भाजपाका पार्टी प्रदेश एकाइ अध्यक्ष सतपालसिंह सत्ती र मुख्यमन्त्री पदका उम्मेदवार प्रेमकुमार धूमल दुवै पराजित भएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमा उल्लेख गरे, ‘म मतदाता (गुजरात एवं हिमाचल प्रदेश)लाई राज्यको विमास यात्रामा अगि बढ्न र जनताको सेवा गर्न कुनै कसर बाँकी राख्नेछैन।’ उनले विकासको जित भएको बताए।
कांग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नो दलको हार स्वीकार गरेका छन्। उनले भने, ‘कांग्रेस जनादेशलाई स्वीकार गर्छ र दुवै राज्यका नयाँ सरकारलाई बधाई दिन्छ।’
पाटेलका नेता हार्दिक पटेलले गुजरातका जनता जागरुक बनेको र अझै जागरुक बन्नुपर्नेमा जोड दिए। उनले सुरत र राजकोटमा इभीएममा बदमासी गरिएको बताए। आफूले सम्बोधन गरेको सुरतको आमसभामा लाखौं मानिस आएको र मत कम आएको बताउँदै इभीएममा बदमासी गरिएको आरोप लगाए । एटीएम ह्याक हुन्छ भने इभीएम कुन हुन सक्दैन भन्दै उल्टै प्रश्न गरे। उनले आफू कुनै दलको नेता नभएको बताउँदै पटेलका लागि आरक्षण र किसानका मुद्दा लिएर आन्दोलन शुरु गर्ने चेतावनी दिए।
चुनावको नतिजालगत्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो भाजपाका लागि शुभ संकेत भएको बताए। कांग्रेस नेता शशि थरुरले गुजरातमा कांग्रेस विजयी नभए पनि सफलता मिलेको दाबी गरे। कांग्रेसका नयाँ अध्यक्ष राहुल गान्धीले कांग्रेसलाई नयाँ गति दिने संकेत भएको धारणा सार्वजनिक गरे।