कांग्रेस बैठकमा कुटाकुट, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

स्याङ्जा १० पुस । स्याङ्जामा नेपाली कांग्रेसका कार्यकर्ताहरुबीच बैठक मै कुटाकुट भएको छ । कुटाकुटमा रामचन्द्र पोडेल समूहका तीनजना कार्यकर्ता घाइते भएको बताइएको छ ।

चुनावी समीक्षा गर्न सोमबार बसेको बैठकमा अन्तरघातको कुरा उठेपछि दुई समूहकाबीच एकले अर्कौलाई आरोप लगाउदन विवाद चर्किदा कुटाकुट भएको हो ।

कांग्रेस क्षेत्र नम्बर दुईले वालिङमा आयोजना गरेको समीक्षा बैठकमा भएको छलफलमा कुटाकुट भएको हो । सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकतामाथि आक्रमण गरेका थिए ।

पौडेल समूहका सुशील काफ्ले, भेषराज अर्याल र कमल ढकाल घाइते भएका छन् । घाइतेद्वय अर्याल र ढकाललाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ ।

मंसिर २१ गते भएको चुनावमा स्याङ्जा क्षेत्र नम्बर २ बाट उपप्रधानमन्त्री एवं कांग्रेस नेता गोपालमान श्रेष्ठ पराजित भएका थिए ।

प्रदेशमा चुनाव लडेका नेविसंघका पूर्व नेता प्रदिप पौडेलको समूहले आक्रमण गरेको रामचन्द्र पौडेल समूहले बताएको छ ।

कमेन्ट गर्नुहोस्