अब मोहनबिक्रम र मोहन वैद्यबीच एकता, विप्लव र कट्टेल पनि छलफलमा

काठमाडौं, नेपाली कम्युनिष्ट आन्दोलनको कालखण्डमा एकअर्काका कटु आलोचकका रुपमा चिनिएका मोहन वैद्य (किरण) र मोहनबिक्रम सिंह जीवनको उत्तरार्धमा एउटै कित्तामा उभिएका छन् ।

२०४२ सालमा मोटो ‘श’ र पातलो ‘स’ को विवाद गर्दै नेकपा मशाल र मसालका दुई पार्टीसहित अघि बढेका नेताहरु तीन दशकपछि एउटै ठाउँमा आइ पुगेका हुन ।

पाँचौ महाधिवेशनको बेला देखिएको चर्को विवाद अहिले पार्टी एकता गर्ने बहसमा फेरिएको छ । खासगरी प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र र एमालेबीच एकता हुने निर्णय भएपछि मोहन वैद्यले मोहनबिक्रमसँग एकताको पहल शुरु गरेका हुन ।

गत वर्ष नेकपा माओवादी केन्द्रसँग वैद्य नेतृत्वको माओवादीका अधिकांश नेताहरुले एकता गरेपनि वैद्य स्वयम् भने अन्तिम समयमा पछि हटेका थिए ।
समयक्रमसँगै वैद्य समूह एक्लिँदै गएपछि यता माओवादी केन्द्रले भने एमालेसँग एकता गरेर समाजवादी क्रान्तिको कार्यदिशा बोकेर अघि बढने निर्णय गरेको थियो । वैद्यहरुले भने यसलाई संशोधनवाद र प्रतिक्रान्तिको संज्ञा दिएका छन् ।

नेपालमा माओको विचारलाई वाद र विचारधाराका रुपमा स्वीकार्दै आएका शक्तिहरुबीच एकता हुने कुरा वैद्यले एक कार्यक्रममा बताए । यसअघि नै वैद्य र विप्लवको संयुक्त विज्ञप्ती सार्वजनिक भएको थियो । आज भने वैद्यले अब यो एकता प्रक्रियामा मोहनबिक्रम समेत जोडिने उदघोष गरे । यद्यपी विगतमा विचारधारा या वाद भनेर पुस्तक नै लेख्ने नेकपा मसालका अविच्छिन्न महामन्त्री एमबीसिंहले यो प्रस्ताव मान्ने या नमान्ने भन्ने विषयमा भने कुनै आधिकारिक धारण सार्वजनिक भएको छैन ।

बुटवलमा आयोजित प्रदेश नं. प्रदेश नं ५ को प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै मोहन वैद्यले मुलुकमा प्रतिक्रान्तिको अध्याय शुरु भएको दाबी गर्दै आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको बताएका छन् । मोहनबिक्रमहरुले पनि सिद्धान्ततः नयाँ जनवादी क्रान्तिको कार्यदिशा बोकेका छन् । मोहनबिक्रम सिंहसँगै विप्लव र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग समे एकताका लागि छलफल भइरहेको वैद्यले बताए ।

वैदको आरोप छ– एमालेसँग माओवादी केन्द्रको एकता नभएर विलय हुन लागेको हो ।

पार्टी स्थायी समिति सदस्य परि थापाले संसदीय पार्टीकै कारण मुलुकमा संसदीय व्यवस्था कमजोर बन्दै गएको जिकिर गरे ।

चितवनमा सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकपछि पहिलोपटक प्रदेश नम्बर ५ स्तरीय प्रशिक्षण तथा बैठक बुटवलमा चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्