कारबाहीमा परेका सवारीसाधनबाट एक करोड ६२ लाख राजस्व स‌कलन

चितवन । ट्राफिक प्रहरीले गएको छ महिनामा नियम विपरीत चलाइएका २२ हजार सवारी साधनका चालकलाई कारबाही गरेको छ ।

यसरी गरिएको कारबाहीबाट साउनदेखि पुससम्ममा रु एक करोड ६२ लाख राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।

पुसमा तीन हजार ५०० सवारी साधनका चालकलाई कारबाही गरी रु २४ लाख ७८ हजार राजस्व संकलन गरिएको छ । मापसे गरी सवारी चलाउने ४०७ चालक कारबाहीमा परेका छन् ।

१३४ दुर्घटना, ६७ जनाको मृत्यु

ट्राफिक प्रहरीका अनुसार चालु वर्षको छ महिनामा १३४ वटा सवारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ भने २५५ जना घाइते भएका छन् ।

याे पनि पढ्नुस  चक्रपथभित्र ट्रक चलाउन रोक, हट्ला ट्राफिक जाम ?

छ महिनाको अन्तरालमा विभिन्न क्षेत्रमा ट्राफिक संकेत टाँस्ने तथा बोर्ड राख्ने काम गरिएको छ । सडक सुरक्षाको विषयमा विद्यार्थीलाई प्रशिक्षण तथा विभिन्न स्थानमा ट्राफिक सन्देशमूलक कार्यक्रम गरिएको छ । दैनिकजसो जिल्लामा ट्राफिक सचेतना कार्यक्रम गरिँदैआएको निरीक्षक पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गरी दुई हजारभन्दा बढीलाई सचेत गरिएको छ ।

पर्यापर्यटनबाट ६० लाख आम्दानी

पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट रु ६० लाख आम्दानी गर्न सफल भएको छ ।

सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । पर्यटकले सौराहामा पाउने सुविधा उक्त वनमा समेत पाउँदै आएका छन् । आम्दानीको स्रोत हात्ती सफारी, जिप सफारी, डुंगा सयर, मचानलगायत हो । उक्त सामुदायिक वनले एक वर्षमा पर्यापर्यटनबाट रु ५९ लाख ९६ हजार आम्दानी गरेको सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  नियम मिच्ने आठसय सवारी साधन नियन्त्रणमा

गएको एक वर्षमा जिप सफारीबाट मात्रै वनले रु ३० लाख ५१ हजार आम्दानी गरेको छ । हाल कुमरोज सामुदायिक वनमा दैनिक ३० वटा जिप सञ्चालनमा छन् । जिपमा बसेर जंगली जनावर गैँडा, बाघ, भालु हात्ती अवलोकन गर्न यहाँ पर्यटक आउँछन्।

जिप प्रवेशबापत सामुदायिक वनले प्रतिजिप रु ५०० लिने गरेको छ भने नेपाली पर्यटकलाई प्रति व्यक्ति रु ५०, भारतीयलाई रु १०० र अन्य विदेशीलाई रु २०० लिने गरेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  तीव्र गतिमा सवारी चलाउने ९४० चालक ट्राफिकको फन्दामा

हात्ती प्रवेश टिकट बिक्रीबाट रु १३ लाख ७५ हजार आम्दानी गरेको वनका अध्यक्ष गुरुङले बताउनुभयो । डुंगा सवारबाट रु सात लाख ४८ हजार, मचान टिकट बिक्री विदेशीबाट रु पाँच लाख ३१ हजार, सोही शीर्षकमा नेपाली पर्यटकबाट रु ९४ हजार आम्दानी भएको छ । कुमरोज वनमा एउटा काठ र अर्को क्रंकिटको मचान छ ।

यस्तै आन्तरिक पर्यटक प्रवेश शुल्कबापत रु एक लाख ४५ हजार, गिट्टी बालुवा बिक्रीबाट रु छ लाख तीन हजार आम्दानी भएको छ । आर्थिक प्रतिवेदनअनुसार आव २०७३÷७४ मा यस वनले रु ६९ लाख १९ हजार आम्दानी गरेको वनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्