आमिर खान अभिनित सिक्रेट सुपरस्टार चीनमा रिलिज, पहिलो दिनमा नै रेकर्ड कमाइ

बलिउडका मिस्टर पर्फेक्सनिस्ट आमिर खान चीनमा पनि उत्तिकै लोकप्रिय छन् । उनको पछिल्लो चलचित्र ‘दंगल’ले चीनबाट मात्रै १९ करोड ३ लाख अमेरिकी डलरको रेकर्ड कमाइ गरेको थियो । चीनकै कमाइबाट ‘दंगल’को वर्ल्ड वाइड कलेक्सनमा ‘बाहुबली द कन्क्लुजन’लाई उछिनेको थियो ।
यसपाली फेरी उनको चलचित्र ‘सिक्रेट सुपरस्टार’ चीनमा रिलिज भइसकेको छ र शुक्रवार पहिलो दिनको साँझ तीन बजेसम्मको आँकडा (३५ लाख अमेरिकी डलर ) हेर्ने हो भने यसपाली पनि उनको फिल्मले ठुलो कमाइ गर्ने सहज अनुमान गर्न सकिन्छ ।
यो चलचित्र शुक्रवार चिनियाँ बक्स अफिसमा जम्मा कमाइको २५ प्रतिशत संकलन गरेर अग्रपंक्तिमा रहेको छ । जबकि यसले झांग जियी अभिनित ‘फोरएभर यंग’लाई १६ प्रतिशत संकलनका साथ दोस्रो स्थानमा धकेलेको छ । त्यस्तै अस्ट्रेलिया-चीन संयुक्त लगानीको ठुलो बजेटको फिल्म ‘गार्जियन्स’ कमाइको १५ प्रतिशत संकलन गरेर तेस्रो स्थानमा छ ।
पछिल्लो बर्ष अक्टोबरमा रिलिज भएको ५० करोड भारतीय रुपैयाँको मध्यम बजेटमा बनेको यस फिल्मले भारतमा ६३ करोडको कमाइ गरेको थियो । शुक्रवारमात्र चीनमा रिलिज भएको यस चलचित्रले चिनियाँ बक्स अफिसमा पहिलो दिन नै २१ करोड भारतीय रुपैयाँ भन्दा बेसी कमाउने देखिएको छ ।
१४ वर्षीय बालिका (जायरा वसीम)को सफल कलाकार बन्ने सपनामा आधारित यो फिल्ममा आमिर खान एक्सटेंडेड केमियो रोलमा छन् ।

कमेन्ट गर्नुहोस्