काठमाडौं, माघ ५ । नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो । त्यसलगत्तै निर्वाचन आयोगले उहाँहरुलाई राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।
प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि आयोगले उक्त प्रतिवेदन आजै राजपत्रमा प्रकाशित गर्न पठाएको छ । प्रतिवेदन बुझेलगत्तै तत् प्रदेशका प्रमुखहरु आ–आफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा लाग्नुभएको हो ।
आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।
त्यस मितिअगावै प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसक्नुपर्ने कानूनी बाध्यताका कारण प्रदेश प्रमुखहरु उक्त तयारीमा लाग्नुभएको हो ।
प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन बुझेलगत्तै प्रदेश प्रमुखले आयोगका पदाधिकारी र सरकारका मुख्यसचिव तथा सचिवहरुसँगको बैठकमा आफ्नो कार्यालय, कर्मचारी एवं तत्काल गर्नुपर्ने जिम्मेवारीका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
प्रदेश नं ७ प्रदेशप्रमुख मोहनराज मल्लले प्रदेशसभा सदस्यहरु दुर्गम जिल्लामा समेत रहेकाले छोटो समयमा कसरी शपथ गराउने र कर्मचारीसहित भौतिक व्यवस्थापन कसरी हुन्छ भनी जिज्ञासा राख्नुभयो ।
बैठकमा संक्रमणकालीन अवस्था र निर्वाचनको निर्धारित तालिकालाई प्रभावित हुन नदिन काठमाडौँमै प्रदेशसभा सदस्यलाई शपथ गराउन सकिने विकल्पका बारेमा छलफल भए पनि आफ्नै प्रदेश प्रमुखले आफ्नै प्रदेशमा शपथ गराउने उहाँले बताउनुभयो ।
प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइरालाले शपथका लागि आवश्यक जनशक्ति र भौतिक व्यवस्थापन तत्काल गर्न सबै सरकारी संयन्त्र युद्धस्तरमा परिचालनका लागि मुख्य सचिव लोकदर्शन रेग्मीको ध्यानाकर्षण गराउनुभयो ।
प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले अत्यन्त छोटो समय र भोलि शनिबार परेकाले कठिन अवस्थाका बारेमा उल्लेख गर्दै प्रदेशमा शपथको व्यवस्थापन गर्न राज्यका संयन्त्रलाई तत्काल परिचालन गर्न सुझाउनुभयो ।
बैठकमा आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनको मतदाता हुने भएकाले मतदाता नामावली प्रकाशन गर्ने मितिअघि नै शपथ ग्रहण गराइसक्नुपर्ने कानूनी व्यवस्थाका बारेमा जानकारी गराउनुभयो ।
प्रदेश प्रमुख शपथलगत्तै उहाँहरुलाई तत्कालका लागि मन्त्रिस्तरको सुरक्षा तथा सेवा सुविधा उपलब्ध गराइएको छ । सबै प्रदेश प्रमुखसँगको छलफलपछि आइतबार बिहान ११ बजेसम्म प्रदेशसभा सदस्यालाई सम्बन्धित प्रदेशमै शपथ गराइसक्ने निष्कर्ष निकालिएको छ ।
मुख्य सचिव रेग्मीले सबै प्रदेशमा शपथको आवश्यक तयारीका लागि सम्बन्धित प्रदेशमा रहेका क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारी नेतृत्वमा सबै सरकारी संयन्त्र परिचालन भइसकेको बताउनुभयो ।
उहाँले सहसचिवको नेतृत्वमा सबै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय, आवास, सुरक्षा, कर्मचारी खटनपटन भइसकेको जानकारी गराउँदै प्रदेश प्रमुखको कार्यालय व्यवस्थापनका लागि गृह सचिव, सामान्य प्रशासन सचिव, सहरी विकास सचिव, सुरक्षा निकायका प्रमुखसँग समन्वय गरेर काम अगाडि बढेको बताउनुभयो ।
प्रदेशसभा पहिलो बैठक बसेको २० दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । उक्त बैठकले मुख्य मन्त्री र प्रदेश सरकार चयन गर्नेछ । रासस