भारतमा पनि वाम गठबंधनको संकेत, कांग्रेससँग तालमेल नहुने

भारतको वामपन्थी पार्टी सीपीआइ-एम २०१९ को आमचुनावमा भारतीय कांग्रेस नेतृत्वको एकीकृत प्रगतिशील गठबन्धन (युपिए) बाट अलग हुने भएको छ । आइतवार कोलकातामा भएको पार्टीको केन्द्रिय कमिटिको बैठकले यो प्रस्ताव बहुमतले पारित गरेको भारतीय समाचार माध्यमहरूले जनाएका छन् ।
सीपीआइ-एमका पूर्व महासचिव प्रकाश करातले आफु कांग्रेससँग कुनै पनि प्रकारको गठबंधनको पक्षमा नरहेको बताएका छन् । पार्टी पोलिट ब्युरोको कोलकातामा बसेको बैठकमा यस मुद्दामा आम सहमति भएको थियो । जबकि पार्टी महासचिव सीताराम येचुरी नेतृत्वको एउटा खेमा भने सत्तारुढ भाजपासँग भिड्न कांग्रेससँग मिलेर जानुपर्ने कुरामा नरम रहेको थोयो ।
केन्द्रिय सदस्यहरू प्रस्तावको पक्ष र विपक्षमा देखिए पछि दुवै नेताहरूको प्रस्तावमा मतदान भएको थियो जसमा पूर्व महासचिव करातको प्रस्ताव ३३ का  विरुद्ध ५५ मतले पारित भएको थियो । अब यस प्रस्तावलाई अप्रिलमा हैदराबादमा हुने सीपीएम-कांग्रेस बैठकमा औपचारिक रूपमा राखिने छ ।
तीन दिनसम्म चलेको केन्द्रिय कमिटीको बैठकमा करात र येचुरीबिच मतभिन्नता देखिएको थियो । भारतीय कम्युनिष्ट पार्टीको इतिहासमा यसअघि १९६४ मा केन्द्रिय कमिटीमा अलग अलग मस्यौदाहरू प्रस्तुत भएका थिए र त्यसपछि पार्टी विभाजन भएर सिपीआइ र सीपीआइ-एम बनेका थिए ।
पूर्व महासचिव करात भाजपाजस्तो साम्प्रदायिक शक्तिसँग लड्न वामपन्थीहरूको वृहद् गठबन्धन बनाउनु पर्ने पक्षमा रहेका छन् । यसलाई नेपालमा बनेको वाम गठबन्धन र त्यसको ऐतिहासिक सफलताको असरका रूपमा समेत हेर्न सकिन्छ ।

याे पनि पढ्नुस  वाम एकताले दिल्ली ‘सरप्राइज’

कमेन्ट गर्नुहोस्