पछ्यौटे अग्रगमन

 

मनु ब्राजाकी

गणतान्त्रिक नयाँ नेपालको थाप्लोमाथि पुरानो साबिक सूर्य उदायो ।

वाग्मती भनिने ढलमतीको एउटा किनारमा पौराणिक भए पनि उत्तरआधुनिक देब्रे ढल्किएको शिवलिङ्ग पूजा प्राप्त गर्न ठडिएको छ ।

साबिक सूर्यको धूमिल गुलाफी प्रकाशमा कतैबाट एउटा भुस्याहा र लुत्याहा कुकुर प्रकट हुन्छ ।

अनि, त्यस पौराणिक कम, उत्तरआधुनिक बाङ्गो शिवलिङ्गमाथि आफ्नो र आफ्ना गणको क्षेत्र निर्धारण गर्न बलैसँग एक मानोजति मूत्राभिषेक गर्छ । लुतोग्रस्त स्वानको स्वानमूत्रले त्यस बाङ्गो शिवलिङ्गको योनिसदृश्य खोबिल्टे भाग मूत्रमय हुन्छ ।

ठीक यसैबेला त्यहाँ हातमा पूजाको थाली बोकेर अग्रगमन गर्दै सिर्जना शर्मा आइपुग्छे । कम्मरभन्दा एक कुरेतमाथि फ्याल्फ्याले गन्जी हल्लिँदैछ, तल प्यान्टी अड्याउने ठाउँमा प्यान्ट झुन्डिएको छ । नाभीको खोबिल्टो तेस्रो नेत्रझैँ तलतिरै कतै हेररिहेछ, माथि उसका नाभीको खोबिल्टोभन्दा पनि ठूलठूला आँखाले बाङ्गो शिवलिङ्गतिर अपलक हेररिहेछन् ।

अब भने सनातन सूर्य अलि उज्यालो भयो । हाँस्यो कि हाँसेन, थाहा भएन ।

सिर्जनाले सोची आज बेफुर्सती छु । डग… सरी, डम डेब्लर शर्मासित भेट्नुछ । उसैसित ‘अग्रगमन र नयाँ नेपालमा युवाहरूको भूमिका’ भन्ने गोष्ठीमा जानु छ । बीरेले जुत्ताको फित्ता सिएर ल्याइपुर्‍याउँछ कि पुर्‍याउँदैन । अस्ति इतिकाले डमतिर हेर्दै मेरो स्यान्डल कुल्चिदिएकी थिई…अनि मलाई खिसी गर्दै कानेखुसी गरेकी थिई, ‘क्रिस्चियनसँग लभ परेछ कङ्ग्राच्युलेसन! ए ज्या, अब तेती टाढा पशुपति को जाओस्! त्याँ पनि लिङ्गै हो, यो पनि लिङ्गै हो । अँ, अग्रगमनमा, नयाँ नेपालमा क्रिस्चियनसित लभ गर्नु हुँदैन र ?’

यो प्रश्न सम्भवतः ‘राप्रउ पोखरेल’का लागि थियो ।

सिर्जनाले फोहरी वाग्मतीछेउ ठडिएको बाङ्गो लिङ्गलाई श्रद्धापूर्वक ढोगी । फूलपात छरी । तामाको पुन्टे अमखोराबाट एक तुर्को जल चर्ढाई । अनि, लिङ्गगर्भित योनिको खोबिल्टोबाट एक मुठी स्वानमूत्र शिवाम्बु ठानेर घुटुक्क पारी ।

नाक/मुख खुम्चिएको मुहार प्रदीप्त भयो । प्रसन्न भयो, डमको दीर्घआयु र सफलताको कामना गरेर । यस्तो अनुहार कस्तो भयो होला ? नयाँ नेपालजस्तो ? पेडाको प्रसाद पाएर लुते कुकुरले पुच्छर हल्लायो ।

परम्परागत सूर्य झन् उदायो ।

सिर्जना घर पुग्दा ८ बजेछ । बाटोमा नयाँ नेपालका कुण्डले/मण्डलेसित भेट गर्दा गर्दा अनि वीरबहादुर मिजार नाम्नी बीरेलाई ‘मेरो स्याण्डिल छिटो ल्याउनू’ भन्ने आदेश/उपदेश दिँदादिँदा समय भिड्किएछ ।

याे पनि पढ्नुस  संस्कृतिका छात्र गोपेश बाहेती 'काठमाडौँ भ्याली इन्टरस्कुल आर्ट कम्पिटिसन'को उपाधि विजेता

घर पुगेपछि र्सवप्रथम उसले मोबाइलबाट डमलाई पुकारी ।

“हेल्लो! ड्याम … ।”

“वेट… वेट डार्लिङ् । आ’म नट ड्याम, आ’म डोम डेब्ललर डी ओ एम । हाउ यू फरगेट – के छ प्रेटी बेबी – बिहानैदेखि म तिम्रो फोनको प्रतीक्षामा थिएँ । बाहिर थियौ कि ?”

“अँ, हेर न डग… सरी डोम! म पशुपति जान हिँडेकी थिएँ, बाटैमा त्रिनेत्र भेट भए, मैलेतिम्रो दिर्घायु र सफलताको पनि इच्छित कामना गरेँ । यार, आज हामीले अग्रगमनको गोष्ठीमा जानु त छँदैछ, बरु यतै आऊ, आफ्टर टेन, ड्याडी र मम अफिस गइहाल्नुहुन्छ अनि अप टू इलेभन आउँदै हुनुहुन्छ, महापण्डित प्रखरप्रज्ञा प्राञ्जलेश्वर वाशिष्ठायन पाशुपत सैन्याधिपति अखिलनयनज्यू । यार, आऊ है! आ’म वेटिङ् फर अ डग…आ’म सरी, डोम! सरी, आई स्पेल डी ओ एम । ओक्के ?”

“यार,तिम्रो त्यो वाशिष्ठायनको म कुरै बुझ्दिनँ ।”

“कुरा त म पनि बुझ्दिनँ … ।”

“अब भन्छ, सबै कुरा वेदबाट निस्कियो रे । मलाई त लाग्छ आइन्सटिनले वेद पढेको भए ‘इ इज इक्वेल टु एमसी स्क्वायर’ को सूत्र पनि यो वाशिष्ठायनले वेदकै कुनै मन्त्रद्वारा सिद्ध गर्ने थियो । मैले त केही बुझिनँ बा! हे, होली क्राइस्ट! धन्य, आइन्सटिनले वेद पढेको रहेनछ ।

“यार, ज्ञानको सीमा छ,”  सिर्जना ।

“यार, अज्ञानको सीमा छैन,” डोम ।

“यार, प्रेमको सीमा छ,” सिर्जना ।

“यार, घृणाको सीमा छैन,” डोम ।

“यार, देशको सीमा छ,” सिर्जना ।

“यार, नेपालको सीमा छैन,” डोम ।

“सीमा छैन, छेकबार छैन, रोकछेक छैन, उसो भए आज आउने ?”

“अनि, सँगै जाने अग्रगमनतिर, नयाँ नेपालतिर ।”

यसका साथै मोबाइल-वार्ता बन्द भयो ।

सिर्जनाले ऐनामा हेरी र आफ्नो भ्रामक मन र सिसाको सत्यनिरूपणलाई सत्य मानी ।

धन्य, भ्रामक मनले आफूलाई मात्रै छल्छ । भ्रामक मगजले सिसालाई समेत छल्छ । अनि कुन ऐना हेर्छौ ठूल्दाइहरू हो!

“मैया साप! मैया साप! जुत्ता ल्याएँ हजूर ।”

याे पनि पढ्नुस  संस्कृतिका छात्र गोपेश बाहेती 'काठमाडौँ भ्याली इन्टरस्कुल आर्ट कम्पिटिसन'को उपाधि विजेता

मूलढोकामा, कुकुरभन्दा बाहिर, एक जोर स्याण्डिल लिएर उभिएको वीरबहादुर मिजारले झ्याट्ट सम्झ्यो, मैले ‘हजूर’ त भन्नु नपर्ने, भनिहालियो । क्या बित्था गरेछु । अब ‘राजा’ छैन रे! भरे चार गिलास घुट्क्याएर राँडीलाई दुई लात गोद्छु । छोरोलाई छातीमा च्याप्छु, छोरीलाई चिसो थाङ्नामा मिल्काउँछु ।

“मै’साप! म …।”

“ए बीरे, ल्याइस् मेरा स्याण्डिल ?”

यति भन्दा नभन्दै सिर्जना शर्मा सशङ्कित भइन् आफैँसित, ए रात्तै, नयाँ नेपालतिर जानुछ अग्रगमन गर्दै । ह्या, के बोलिछु ।

“वीरबहादुर, ल्यायौ मेरो स्यान्डिल – तीँ राखिदेऊ है । कति पैसो भो ?”

वीरबहादुर रुपियाँको हिसाब गर्दै आएको थियो, यहाँ भने पैसोको कुरा हुँदैछ ।

पुछारमा कुरा टुङ्गियो ।

मोलभाउ, दलाली, बार्गेनिङ्, सुनजोखामा जे हुन्छ, विश्वव्यापी रूपमा त्यही भयो यहाँ पनि ।

“पुग्यो ?”

“ज्यू, पुग्यो ।”

यसपटक ‘हजुर पुग्यो’ भनेन ।

यसले कसको मर्यादा राख्यो, कुन्नि ?

वीरबहादुरले हिजो ठूलाबडाका ‘दलाली’बाट जति पाउँथ्यो, आज पनि त्यति नै पायो । तर, उसले शिर पायो । पाउ गुमायो । अबका दिनमा काँडा टेकी हिँड्न उसलाई कसले सघाउला ?

“ए, एकमुठी पानी ल्याओन है, छिटो ।”

सिर्जनाकी भाउज्यूले हतारिँदै अमखोरामा पानी ल्याइपुर्‍याई ।

“हरे, भाउज्यू तपाईं पर सरेकी हैन ?” अनि, यो पानी चोखो हुन्छ त ?

“नानी, मलाई थाहा भएन, रिसानी माफ पाऊँ ।”

लगत्तै भुन्टे छेत्रीले एक अमखोरा पानी ल्याइपुर्‍यायो । १४ वर्षको भुन्टेको कट्टु थिएन, भोटो थियो ।

नयाँ नेपाल ।

सिर्जनाले अलिकति पानी अँजुलीमा राखेर वीरबहादुरले ढोकाको पाइटोमा राखेको स्याण्डिलमा र्छर्किई । तर, त्यो पानी मात्र थिएन, सुनपानी थियो, कानका बालामा चोपलेर र्छर्किएको ।

सुन, जसको जीवन फलामबिना छैन ।

फलाम, जसको जीवन सुनले नै धानिरहेछ ।

१० बजे बिहानीको सूर्य अलि व्यङ्ग्यात्मक भयो ।

आकाश प्रच्छन्न छ ।

डोम डेब्लर यथासमय आइपुग्यो ।

यथासमय आइपुगे महापण्डित प्रखरप्रज्ञा प्राञ्जलेश्वर वाशिष्ठायन पाशुपत सैन्याधिपति अखिलनयनज्यू पनि । अनि दुई घन्टाको धाराप्रवाह वेद मन्त्रहरूको सव्याख्या प्रवचन चल्यो । डोम र सिर्जनाले उत्तरआधुनिक मुखमुद्रासहित परम्परागत ढाँचाले मुन्टो हल्लाए । भुन्टे छेत्री प्रस्तरखण्डझैँ अविचल बसिरह्यो । भाउजू पर सरेकी हुनाले सिर्जनाले महापण्डितसामु आउन दिइन ।

याे पनि पढ्नुस  संस्कृतिका छात्र गोपेश बाहेती 'काठमाडौँ भ्याली इन्टरस्कुल आर्ट कम्पिटिसन'को उपाधि विजेता

भीषण वैदिक मन्त्रको भाषण सकिएपछि अग्रगमनतर्फ लम्किएका प्रेमी युगल ‘अग्रगमन र नयाँ नेपालमा युवाहरूको भूमिका’ भन्ने गोष्ठीतिर हानिए ।

गोष्ठीमा मञ्चदेखि दर्शकदीर्घासम्म सामन्ती र सामन्तवादी संस्कार बोकेकाहरूको घुइँचो छ । त्यसै घुइँचोमा प्रेमी युगल डोम र सिर्जना पनि मिसिए ।

त्यहाँ पत्याइनसक्नु गरी घनघोर अग्रगमन भयो । आउन अनकनाएको नयाँ नेपाल डरले थुरथुर काम्दै भोकै-प्यासै, नाङ्गै-भुतुङ्गै आइपुग्यो ।

यति भएपछि गोष्ठी सकियो ।

अब कता जाने ? यो यक्ष्य प्रश्न खडा भयो ।

तर, अग्रगमनकारीहरूका लागि यो नितान्त सरल प्रश्न थियो र उत्तर झनै सरल थियो । साँझ झमक्क परसिक्या छ । साबिकको सूर्य उतिबेलै नयाँ नेपाल देख्नासाथ अँध्यारो मुख लगाएर टाप ठोकिसक्या थियो । अतः डोम र सिर्जना पनि उज्यालो मुख लगाएर डिस्कोतिर बत्तिए ।

पाठकवृन्द! कथा भने सकियो । तर, मेरो कथाचाहिँ अलिकति बाँकी छ । मेरो कथा पनि प्रश्नबाटै प्रारम्भ हुन्छ । गोष्ठीपश्चात् अब म कता जाऊँ ?

निकै घोत्लिएपछि मैले एउटा समाधान निकालेँ । र, लागेँ नेपालको हृदयस्थलतिर । न्यु हेवन एन्ड हेल ब्राइट फ्युचर डान्स रेस्टुराँ ।

हामीले लाखौँलाख नेपाली चेलीहरूलाई बेचिसकेका छौँ । लाखौँलाई सकसमा पारेर ‘पैसो कमाउन’ विभिन्न देशहरूमा घोक्र्याइसक्या छौँ । अब नेपालमा बाँकी रहेका नानी-चेलीहरूलाई पनि त ‘पैसो’ कमाउने जोहो मिलाउनुपर्‍यो । अतः यो रेस्टुराँ हामीले वीरतापूर्वक नेपालको मुटुमा खोलेका हौँ ।

नेपाल नृत्याङ्गना चेलीले स्टेजमा प्यान्टी र ब्रा फुकालेर फालिसक्दा पनि मैले चिन्न सकिनँ, यो कसकी छोरी हो भनेर । कतै मेरै त होइन ?

नृत्य सकियो । झलमल्ल उज्यालो भयो ।

बल्ल पो चिनेँ, सिल्कको कुर्ता-पाइजामा लगाएका, ढाकाको टोपी ढल्काएका र मगही पानको गिल्लौरी चपाउँदै गरेका महापण्डित प्रखरप्रज्ञा प्राञ्जलेश्वर वाशिष्ठायन पाशुपत सैन्याधिपति अखिलनयनज्यूलाई । आडैमा रहेछन् ।

पाठकवृन्द! लौ त अब म गएँ, नेपाल साप्ताहिकको दसैँ विशेषाङ्कका लागि एउटा कथा लेख्नुछ । धन्यवाद!

मझेरी डट कमबाट ।

कमेन्ट गर्नुहोस्