प्रदेश नम्बर ७ ले पायो ४७ करोड रुपैयॉ

लोकेश धामी,कैलाली ।

सरकारले अन्य प्रदेशहरूमा जस्तै सात नम्बर प्रदेशमा पनि बजेट निकासा गरेको छ  । संरचनाले खर्च गर्न पाउने गरी सरकारले यस प्रदेशका लागि ४७ करोड रुपैयॉ बजेट निकासा गरेको हो । प्रदेशसभा, प्रदेशका ७ वटा मन्त्रालय र प्रदेश प्रमुखको सचिवालयलाई खर्च गर्नका लागि सो रकम निकासा गरिएको छ । बजेट निकाससंगैं अब प्रदेशको आवश्यकता अनुसार खर्च गर्न पाउने बाटो पनि खुला भएको छ ।

मुख्य मन्त्रीको कार्यालय सहित अन्य ६ मन्त्रालयका लागि सो बजेट अख्तीयारी आएको हो । प्रतिमन्त्रालय ५ करोडका दरले ३५ करोड रुपैयॉ अख्तीयारी आएको धनगढी स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक मदन पाण्डेले जानकारी दिए ।

यस्तै, प्रदेश प्रमुखको सचिवालयका लागि अन्य जस्तै प्रदेश सातमा पनि २ करोड रुपैयॉ अख्तीयारी आएको छ । बजेट अख्तीयारी आइसकेकाले अब प्रदेशको आवश्यकताअनुसार खर्च गर्न पाउने बाटो खुला भएको छ । बिहीबार निकासा दिइएको रकम प्रदेशको आवश्यकता अनुसार विभिन्न क्षेत्रमा खर्च गर्न पाउनेछन् । त्यसका लागि पुजीगत र चालू गरेर बजेट निकासा गरिएको हो । तलब भत्ता तथा कार्यालय संचालन पनि सोही बजेटबाट हुने कोष नियन्त्रक पाण्डेको भनाई छ ।

प्रदेशका लागि सरकारले चालू आर्थिक वर्षको बजेटमा १ अर्ब रुपैयॉका दरले बजेट विनियोजन गरेको थियो । यसमध्ये हाल ४७ करोड रुपैयॉका दरले निकासा भएको हो । बॉकी बजेट आवश्यकता अनुसार थप निकासा हुने अर्थ मन्त्रालयले जनाएको छ । यसअघि सरकारले प्रदेशको अस्थायी राजधानीका लागि १ अर्ब ८ करोड रुपैयॉ निकासा दिएको थियो । अर्थ मन्त्रालयले सहरी विकास मन्त्रालयमार्फत सातवटै प्रदेशका १५ करोड ४२ लाख रुपैयॉका दरले निकासा दिइसकेको छ । उक्त रकमले प्रदेशका लागि आवश्यक भवन शीर्षकमा खर्च गर्न पाउने निर्देशन छ ।

कमेन्ट गर्नुहोस्