प्रदेश नं ६ का सांसदहरुले के के भने त आज सुर्खेतमा ?

सुर्खेत, २१ माघ (रासस) ः प्रदेश नं ६ लाई समृद्ध बनाएर छाड्ने यस प्रदेशका सांसदहरुले संकल्प गरेका छन् ।

अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरस्थित क्षेत्रीय सिँचाइ विकास निर्देशनालयमा आज सम्पन्न बैठकमा सहभागी प्रदेश सांसदले प्रकृतिप्रदत्त स्रोत साधन प्रचूर मात्रामा भए पनि त्यसलाई उपयोगमा ल्याउन नसकेका कारण ६ नं प्रदेश पछि परेको बताए ।

समग्र प्रदेशको समृद्धिका लागि सबै सांसदहरु एक हुनपर्नेमा उनीहरुको जोड थियो । पहिलो ऐतिहासिक प्रदेशसभाको बैठकमा सहभागी हुँदा गौरवान्वित भएको सांसदहरुले बताएका छन् । उनीहरुले १२ लाख जनसङ्ख्या भएको यस प्रदेशमा उपलब्ध जल, जंगल, जमीन, जडीबुटी, खनिज र खानीबाटै समृद्धि खोजिने बताए । उनीहरुले ६ नं प्रदेशको चुनौतीलाई सम्भावनामा बदल्ने संकल्प गरेका छन् ।

कालीकोटका सांसद सोशिला शाहीले पृथ्वीनारायण शाहको योगदानबाट निर्मित देशको स्वाभीमान रक्षा गर्न र यस प्रदेशलाई विकसित प्रदेश बनाउन आफू निरन्तर लागिपर्ने संकल्प गर्नुभयो ।

सुर्खेतका सांसद यामलाल कँडेलले ६ नं प्रदेशको समृद्धि र विकासका लागि सबै सांसदले स्थायी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

जुम्लाका सांसद नरेश भण्डारीले ६ नं प्रदेशलाई दुई दशकभित्र सम्पन्न बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हुम्लाका सांसद जीवनबहादुर शाहीले प्रदेश धनी तर यहाँका नागरिक गरिब भएको बताउनुभयो ।

कालीकोटका सांसद महेन्द्र शाहीले आफ्नै कमजोरीका कारण ६ नं प्रदेश पछि परेको तर्क गर्नुभयो ।

रुकुमका सांसद रातो कामीले प्रदेशको समृद्धि तथा सुखी जनताका लागि भाषण नभई काम गरेर देखाउने र यसका लागि जनताले आफूलाई चुनेर पठाएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्