लासा फिभर पश्चिम अफ्रिकामा महामारीको रूपमा फैलिरहेको भाइरल इन्फेक्सन हो । नाइजेरियामा मात्र यस रोगले ३० जनाको ज्यान लिइसकेको छ । यो यसै साल जनवरी यताको आँकडा हो ।
सिन्हुआ न्युजले जनाए अनुसार पछिल्लो पल्ट दक्षिण -पश्चिम नाइजेरियाको ओंडो राज्यमा मात्र ३६ वटा नयाँ संक्रमणका मामिला भेट्टिएका थिए जस मध्ये एकै दिन ९ जनाको ज्यान गइसकेको छ ।
लासा फिभरको संक्रमण विशेष गरेर २ दिनदेखि २१ दिनसम्म रहन्छ । यो विशेष गरेर मुसा प्रजातिका जनवरको दिसा-पिसाबबाट प्रदूषित पानी या खानाबाट सर्ने बताइएको छ ।
विभिन्न चरणमा ज्वरो आउने, जिउ दुख्ने, घाँटी दुख्ने, वाकवाकी लाग्ने, पखाला चल्ने, खोकी, पेट दुख्ने, अनुहार सुन्निने आदि फरक, फरक लक्षण देखिने यो रोग लागेका २५ प्रतिशत मानिसहरूमा सुनाइमा समस्या देखिने जनाइएको छ ।
कतिपय बीमारीहरू त कोमामा समेत जाने बताइएको छ । विश्व स्वास्थ्य संगठनले पश्चिम अफ्रिकामा यस रोगलाई चिकित्सकीय आपदा घोषणा गरेको छ ।
अहिलेसम्म सिएरा लियोन, नाइजेरिया, लाइबेरिया, गुएना जस्ता देशहरूमा सीमित यो संक्रमण अन्य क्षेत्रहरूमा नफैलिएको भए पनि कयौँ पटक आप्रवासीहरूले युरोप भित्ऱ्याएको घटनाहरू भेटिएको जनाइन्छ ।