प्रदेश–२ कांग्रेस संसदीय दलको नेतामा रामसरोज चयन

धनुषा, माघ २२ । नेपाली कांग्रेसले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा रामसरोज यादवलाई चयन गरेको छ । सोमबार जनकपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकले यादवलाई सर्वसम्मतिले चयन गरेको हो ।

प्रदेश नम्बरमा २ मा कांग्रेसका १९ जना सांसद रहेका छन् । संसदीय दलको नेता चयन गर्न आइतबार राति जनकपुरमा कांग्रेस नेता विमलेन्द्र निधिले रात्री डिनरको आयोजना गरेका थिए । तर, दलका नेतामा सर्वसहमत हुन नसक्दा सोमबार बैठक बसेको थियो । यादव धनुषाबाट निर्वाचित भएका हुन् ।

यस अघि प्रदेश २ मा सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले पार्टीका उपाध्यक्ष लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेको गरि सकेको छ। फोरमको आइतबार जनकपुरमा बसेको बैठकले उनलाई सर्वसम्मत नेता चयन गरेको हो। राउतलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ।

प्रदेश २ मा दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी, नेकपा एमाले र माओवादी केन्द्रले संसदीय दलका नेता बनाउने तयरीमा छन् । राजपाले जितेन्द्र सोनल र नवलकिशोर साहमध्ये एकलाई नेता बनाउने चर्चा छ ।

एमालेमा संसदीय दलको नेताका लागि शत्रुधन महतो र सत्यनारायण मण्डल नेता बन्ने दाबी गरेका छन् । दुई नेताबीच दलको नेता बन्नेबारे विवाद छ । माओवादी केन्द्रले भरत साहलाई दलको नेता बनाउने करिब टुंगो लगाएको छ । माओवादी केन्द्रको नेता चयन गर्न बैठक बस्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्