काठमाडौँ- ‘पद्मावत’का कारण २५ जनवरीबाट ९ फेबुअरीमा धकेलिएको अक्षय कुमारको आगामी चलचित्र ‘प्याडम्यान’लाई सोलो रिलिजको अवसर मिलेको छ ।
उता सोही दिन रिलिज हुने भनिएको मनोज बाजपेयी र सिद्धार्थ मलहोत्रा अभिनित ‘अय्यारी’को विषयवस्तुमा भारतीय सेना र रक्षा मन्त्रालयको आपत्ति रहेकाले भारतको सेन्सर बोर्डले फिल्मलाई प्रदर्शन अनुमति दिन नसकिने जनाए पछि उसको रिलिज १६ फेब्रुअरीका लागि टरेको छ ।
सुरुमा यी दुबै फिल्म २५ जनवरीमा रिलिज हुने कार्यक्रम रहेको थियो । तर सो मितिमा ‘पद्मावत’रिलिज हुने भएपछि दुबैको रिलिज ९ फेब्रुअरीका लागि सारिएको थियो ।
‘प्याडम्यान’ बलिउडमा रिलिज पहिले नै चर्चामै रहेको छ । अचेल बलिउड सेलिब्रेटीहरूमा स्यानिटरी प्याड हातमा समातेर सामाजिक संजालमा फोटो पोस्ट गर्ने लहर नै चलेको छ ।
निरज पाण्डे निर्देशित ‘अय्यारी’ एक्सन थ्रिलर हो । यसको कथावस्तुमा भारतीय सेना रहेको छ । आपसमा भिडन्त नहुने भएपछि दुबै फिल्मलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।