पत्रकारले आफ्नै विवाह टिभीमा लाइभ गरेपछि..

काठमाडौं, माघ २३ । ‘आज म यहाँ मेरो आफ्नै विवाहमा उपस्थित छु। यो एक लभ म्यारिज हो। त्यसैले मेरी श्रीमती र उनको परिवार पनि निकै खुशी देखिइरहेको छ।’

सन् २०१० मा आमिर खानले निर्माण गरेको पिपली लाइब सम्झनुहुन्छ ?

टेलिभिजन च्यानलहरुको खबर ब्रेक गर्ने शैलीमाथि सो फिल्मले कटाक्ष गरेका थियो। पाकिस्तानमा आइतबार राति एक पत्रकारले गरेको आफ्नै विवाहको प्रत्यक्ष प्रसारणको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहँदा धेरैले त्यो फिल्मलाई सम्झिएका छन्।

पाकिस्तानको फैसलवादको सी ४१ च्यानलका संवाददाता हनन बुखारीले आफ्नै विवाहको टेलिभिजनमा लाइभ कभरेज गरेका हुन्। यो च्यानल पहिलादेखि नै सहरमा हुने विवाहका कार्यक्रम कभर गर्छ।

विवाहका लागि उनी स्पोर्टस कार तथा बाइकमा जन्ती लिएर बेहुलीको घर पुगेका थिए।

विवाह मण्डपमा बुम माइक लिएर हननले कमेन्ट्री दिँदै भन्छन्, ‘आज म यहाँ मेरो आफ्नै विवाहमा उपस्थित छु। यो म र मेरो परिवारका लागि निकै खुशीको मौका हो। यो एक लभ म्यारिज हो। त्यसैले मेरी श्रीमती र उनको परिवार पनि निकै खुशी देखिइरहेको छ।’

यसपछि क्यामेरा आफ्ना पितातर्फ देखाउँदै उनी सोध्छन्, ‘आज तपाइँका पुत्रको विवाह भइरहेको छ। तपाइँलाई कस्तो लागिरहेको छ ?’

संवाददाताले त्यसपछि क्यामेरा दर्शकतर्फ देखाउँछन्। ‘मैले यति धेरै खर्च गरेँ। स्पोर्टस कार तथा बाइक लिएर आएँ। सारा सहर मलाई हेरिरहेको छ। तर मेरी बेहुली किन मतिर हेरिरहेकी छैनन् ?’, उनी प्रश्न गर्छन्।

‘म सधैँ केही न केही नयाँ गरौं भनेर सोचिरहन्छु। त्यही बेला मेरो आफ्नै विवाहको कभर गर्ने आइडिया फुर्याे’, प्रतिक्रिया दिँदै बुखारीले भनेका छन्।

सबैले आफ्नो शैलीलाई मन पराएको उनले बताए। ‘हामीले यो सबै रमाइलो पारामा गर्यौं। म काम गर्ने च्यानलले यसलाई लाइभ गर्यो। त्यसपछि बाँकी न्युज च्यानलले पनि यसलाई देखाए। जब हामी गम्भीर खबर बनाउँछौं कसैले त्यसलाई देखाउँदैन। तर यस्तो हाँस्यस्पद चिज तत्कालै लोकप्रिय हुन्छ’, उनले भने।

टिभीमा प्रत्यक्ष लाइभ गर्न पहिला उनकी बेहुलीले अस्वीकार गरेको र पछि सहमत भएको उनले सुनाए।

हनन बुखारीको विवाहको लाइभ कभरेजको यो भिडियो इन्टरनेटमा भाइरल भएको छ। लाखभन्दा बढी सेयर भइसकेको यो भिडियोमाथि विभिन्न खाले प्रतिक्रिया आएका छन्।

कतिपयले विवाहको गरिमा खबर कभर गर्ने पत्रकारभन्दा उच्च रहेको भन्दै आफ्नै विवाहको लाइभ कभर गर्नु बेकुबी भएको बताएका छन्। कतिपयले पत्रकारिताको स्थितिलाई लिएर चिन्ता जनाएका छन्। केहीले भने स्थानीय च्यानल भएकोले विवाहको कभर गर्नु ठिकै भएको भन्दै बुखारीको समर्थन गरेका छन्।

भिडियाे 

कमेन्ट गर्नुहोस्