ग्लेन म्याक्सवेलको विद्युतीय पारी: अस्ट्रेलियासामु घुँडा टेक्यो इंगल्याण्डले

काठमाडौँ  । पहिले दुई ओभरमा १० रन खर्चेर तीन विकेट र त्यसपछि ५८ बलमा एक सय तीन रन ! ग्लेन म्याक्सवेलको यसै अविजित पारीले ट्रान्स तस्मान टि-ट्वेन्टी त्रिकोणीय शृंखला अन्तर्गत अस्ट्रेलियाको होबर्टमा भएको ट्वेन्टी-ट्वेन्टी म्याचमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई पाँच विकेटले हराउन सफल भएको छ ।

निर्धारित २० ओभरमा इंग्ल्याण्डले ९ विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो । एक सय ५६ रनको विजय लक्ष लिएर मैदान उत्रेको अस्ट्रेलियाले मात्र ५ विकेट गुमाएर ९ बल बाँकी हुँदै एक सय ६१ रन बनाएर लक्ष भेट्टाएको थियो ।

टस जितेर इंग्ल्याण्डलाई ब्याटिंग गर्न निम्त्याएको अस्ट्रेलियालाई दोस्रो ओभरको चौथो बलमै जेसन रोयको रुपमा पहिलो सफलता मिलेको थियो । इंग्ल्याण्डको तर्फबाट डिजे मलानले ३६ बलमा सर्वाधिक ५० रन बनाए । उनी ६२ मिनेट क्रिजमा टिकेका थिए ।

त्यस्तै क्याप्टेन मोर्गनले १४ बलमा २२ र एडी हालेसले १५ बलमा २२ रनको योगदान गरे । त्यसका अतिरिक्त जोर्डनले ११ मा १६ र  बिलिंग्सले ९ मा १० रन जोडेका थिए । अन्य कुनै पनि ब्याट्सम्यानले दुई अंकको स्कोर बनाउन सकेनन् ।

अस्ट्रेलियाको बलिंग आक्रमणमा म्याक्स्वेलको दबदबा रह्यो । उनले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । त्यसका अतिरिक्त एसी अगरले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए भने स्तानलेक, रिचार्डसन, टाई र स्टोनिसले एक-एक विकेट झारे ।

यस अघि न्युजिल्याण्ड विरुद्ध डकबर्थ लुइस नियमानुसार विजय हासिल गरिसकेको अस्ट्रेलियालाई पनि डेभिड वार्नर चार रन बनाएर दोस्रो बलमै डेभिड विलीको बलमा हेल्सद्वारा क्याच र एक बल बिराएर क्रिस लिन शून्यको व्यक्तिगत स्कोरमा आउट हुँदा प्रारम्भिक झड्का लागेको थियो ।

तर त्यस पछि डियाक्री सर्ट र ग्लेन म्याक्स्वेलले सम्हालिएर खेल्दै टीमको स्कोर ८२ पुऱ्याए । सर्ट २० बलमा ३० रन बनाउँदै आदिल रासिदद्वारा कट-बोल्ड भए । म्याक्स्वेलले भने ८९ मिनेट क्रिजमा टिकेर ५८ बलमा १०३ रनको अविजित पारी खेलेर टिमलाई जीत दिलाए । यी दुई बाहेक स्टोनिस र हेड ६-६ रनमा आउट भए भने एलेक्स क्यारीले नटआउट ५ रन जोडेका थिए ।

सुरुमा बलियो देखिएको इंग्ल्याण्डको बलिंग म्याक्स्वेलसामु निरीह हुन पुग्यो । बलिंग तर्फ विलीले तीन सफलता हात पारे ।   यसका अतिरिक्त मार्क उड र रासिदले १-१ विकेट लिए ।

यस त्रिकोणीय शृंखलाको अर्को खेल शनिवार इंग्ल्याण्ड र अस्ट्रेलिया बीचनै मेलबर्नमा हुनेछ ।

 

कमेन्ट गर्नुहोस्