सातवटै प्रदेशमा चुनिए मुख्यमन्त्री, संघीय शासन विधिवत रुपमा सुरु

काठमाडौं, फागुन ४ । संविधानको नयाँ व्यवस्था अनुसार संघीय व्यवस्थामा प्रवेश गरेको नेपालले सातवटै प्रदेशमा मूख्यमन्त्री पाएको छ ।

चारवटा प्रदेशमा मूख्यमन्त्रीले सपथ लिएर मन्त्रिपरिषदसमेत बनाइसकेका छन् भने आज दुईवटा प्रदेशका मूख्यमन्त्रीले सपथ लिँदैछन् ।

प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नम्बर ६ का मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शपथका साथ पदभार ग्रहण गर्दै छन् । प्रदेश नम्बर ४ का मूख्यमन्त्री गुरुङ र सभामुख नेत्रनाथ अधिकारीको शपथ आज बिहान हुँदैछ । मूख्यमन्त्रीको शपथसँगै प्रदेश मन्त्रिपरिषदको गठनको तयारी गरिएको छ ।

प्रदेश ४ मा एमालेले ५ र माओवादीले २ मन्त्री लिने समझदारी बनेको जनाइएको छ ।

प्रदेश ७ का मूख्यमन्त्री त्रिलोचन भट्टले भने शनिबार शपथ लिने कार्यक्रम छ ।

प्रदेश नम्बर १, २ र ५ मा बिहीबार नै मुख्यमन्त्रीको शपथ र मन्त्रिपरिषद गठन भइसकेको छ भने प्रदेश ३ मा त्यसअघि नै सरकार गठन भइसकेको छ ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव भएपछि नेपाल औपचारिक रुपमा संघीयतामा प्रवेश गरेको हो । प्रदेश नम्बर १ मा शेरधन राई, २ मा लालबाबु राउत, ३ मा डोरमणि पौडेल, ४ मा पृथ्वीसुब्बा गुरुङ, ५ मा शंकर पोखरेल, ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट मूख्यमन्त्री बनेका हुन् ।

कमेन्ट गर्नुहोस्