दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनायो स्प्रिङ भ्याली एकेडेमीले

काठमाडौं । स्प्रिङ भ्याली एकेडेमीले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

राजधानीको तारकेश्वर नगरपालिका–२ स्थित स्कूल प्रांगनमा सोमबार भव्य कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि निवर्तमान रक्षामन्त्री एवं काठमाडौं क्षेत्र नं ६ का सांसद भिमसेनदास प्रधानले विद्यार्थीको सफलताका लागि स्कुलको मात्रै नभई विद्यार्थीको परिवारले पनि उत्तिकै भूमिका खेल्नुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका प्रधानले अभिभावकले विद्यार्थीको मनोबल बुझी उनीहरुलाई सही मार्गमा ल्याउन र सफल बनाउनमा ठूलो भूमिका खेल्नुपर्ने बताए ।

त्यस्तै स्कुलका प्रबन्ध निर्देशक नवराज न्यौपानेले छोटो अवधिमा नै स्कुलले यति ठूलो सफलता प्राप्त गरेको भन्दै सफलताको श्रेय कुनै एक जना शिक्षक वा विद्यार्थीको मात्रै नभएर समुदायका सम्पूर्ण अभिभावकहरुको समेत रहेको दावी गरे ।

स्कुलका प्रिन्सिपल श्रीराम बेलबासेले स्कुललाई सफल बनाउनका लागि आफूहरु अहोरात्र खटिरहेको र यस स्कुललाई सामुदायिक स्कुलका रुपमा चिनाउने आफ्नो लक्ष्य रहेको बताए ।

कार्यक्रममा प्रदेश सांसद योगेन्द्र सांग्रौला, तारकेश्वर नगरपालिका प्रमुख रामेवर बोहोरा, तारकेश्वर –२ नम्बर वडाका वडाध्यक्ष रविद्र केसी, त्रिवि शिक्षण अस्पतालका वालरोग विशेषज्ञ डा।दमनराज पौडेललगायत यस क्षेत्रका विभिन्न स्कुलका प्रिन्सिपललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई अझ रोचक बनाउनका लागि विद्यालयका साना–साना नानी–बाबुहरुदेखि विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम गरेका थिए । कार्यक्रममा यस वर्ष खेलाइएका विभिन्न खेलहरुमा प्रथम, द्वीतीय तथा तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्