भ्रष्ट देशको सूचीमा नेपाल १२२ औं स्थानमा

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ । जसमा नेपाल १२२ औं स्थानमा परेको छ ।

१८० देशमध्ये नेपाल गत वर्ष १३१ औं स्थानमा रहेको थियो । जसमा ९ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औं स्थानमा पुगेको छ। नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देश निकै भ्रष्टाचार हुने भनेर चिनिन्छन् । राजनीति, वित्तीय अनुशासन, न्यायमा पहुँच लगायतका ६ वटा मापदण्डको आधारमा देशहरुलाई शून्यदेखि १०० सम्म अंक दिइन्छ । ० अंक पाएमा सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक पाएमा भ्रष्टाचार हुँदै नहुने भनेर छुट्याइन्छ ।

सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्ड पहिलो र डेनमार्क दोस्रो स्थानमा छन् । उनीहरुले पाएको नम्बर क्रमशः ८९ र ८८ छ । चीन ४१ नम्बरसहित ७७ औं स्थानमा छ ।

दक्षिण एशियाका देशहरुमध्ये अफगानिस्तान पुछारबाट चौथो स्थानमा छ । जम्मा १५ अंक पाएको छ । यसैगरी बंगलादेश १४६ औं, पाकिस्तान १२३ औं, माल्दिभ्स ११८ औं, श्रीलंका ९७ औं, भारत ८५ औं र भुटान २९ औं स्थानमा छन् ।

एमनेस्टीले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदनअनुसार विश्वका दुईतिहाइ देशहरुले ५० भन्दा कम अंक पाएका छन् । यसबाट विश्वभर भ्रष्टाचार नियन्त्रणका लागि कम प्रयास भएको थाहा हुने प्रतिवेदनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्