पार्टी एकता संयुक्त कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौं । पार्टी एकता सम्बन्धी तयारी गर्न बनेका संयुक्त कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । एमाले र माओवादीबीच पार्टी एकता घोषणा भएपछि कार्यदलको पहिलो बैठक बसेको हो ।

बालुवाटारमा गत सोमबार राति सम्पन्न एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, मातृका यादव र जनार्दन शर्मा छन् । कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने छ ।

पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् । कार्यदलले १ हप्ताभित्र एकीकृत पार्टीको अन्तरिम विधान बनाउने तयारी गरेको छ ।

संगठनात्मक रुपमा ९९ सदस्यीय केन्द्रीय समिति, ३३ सदस्यीय पोलिटव्युरो र ११ सदस्यीय स्थायी समिति बनाउने सहमति भइसकेको छ ।

कमेन्ट गर्नुहोस्