प्रचण्डले तोडे निर्वाचन क्षेत्र जाने रेकर्ड, जनता भन्छन्– यस्ता पो सांसद

काठमाडौं । फागुन १ गते जनयुद्ध दिवस । वाइसीएल नेपालले मातृ पार्टी नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा सहभागी थिए पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तर, उनलाई त्यसै दिन चितवनमा आयोजित कार्यक्रममा सहभागी भएर काठमाडौंमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता प्रक्रियाबारे छलफल गर्नुपर्ने थियो ।

अन्त्यसम्म पर्खँदा ढिलाइ हुने देखेपछि प्रचण्डले कार्यक्रमलाई बीचमै सम्बोधन गर्ने निधो गरे । जनयुद्ध दिवसजस्तो महत्वपूर्ण कार्यक्रमलाई बिचमै सम्बोधन गरेर प्रचण्ड चितवनतिर लागे । चितवनमा प्रचण्डले त्यो दिन शरद माविको वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा सहभागिता जनाए ।

विद्यालयको वार्षिकोत्सव सकेर प्रचण्ड काठमाडौं फर्केपछि ओलीसँग एकता प्रक्रियाबारे छलफल भयो । ओली–प्रचण्डबीच दिउँसो ३ बजे हुने भनिएको छलफल विद्यालयकै कार्यक्रमले अपरान्ह ४ बजे सरेको थियो ।

माथि उल्लेखित घटनाक्रमले राष्ट्रिय जीवन र राजनीतिमा महत्व राख्ने कार्यक्रम र बैठक सँगसँगै प्रचण्डले आफ्नो गृहजिल्ला र मतदातालाई उत्तिकै महत्व दिने गरेको देखाउँछ । पार्टी र सरकारको नेतृत्व गर्ने नेताले राष्ट्रिय राजनीतिको चापाचापका कारण गृह जिल्लाका मतदातालाई चटक्कै बिर्सिने र समय नै दिन नसक्ने गुनासो विगतमा सुनिन्थ्यो । प्रचण्डले त्यो गुनासोलाई गलत सावित गर्ने अभ्यास गरिरहेका छन् ।

अध्यक्ष प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले राष्ट्रिय राजनीति जत्तिकै महत्व मतदाताको आग्रहलाई समेत दिने गरेका छन् । ‘गृह जिल्लाबाट मतदाताले निम्ता पठाएको कार्यक्रमलाई सकभर छुटाउने गरिएको छैन,’ ती सदस्यले भने, ‘जुन क्षेत्रका जनताले भोटले जितेर राष्ट्रिय राजनीतिमा सक्रिय हुन पाइएको छ, ती मतदातालाई भुल्नु हुँदैन भन्ने मान्यता हो ।’ प्रचण्ड राष्ट्रिय नेता सँगसँगै एउटा क्षेत्रको निर्वाचित सांसद समेत भएकाले सांसदको भूमिका निर्वाह गर्न प्रचण्ड पटक–पटक चितवन जाने गरेको जनाइएको छ ।

मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएर मतपरिणाम सार्वजनिक भएपछि प्रचण्ड लगातार २ दिन मतदातालाई धन्यवाद दिनमा व्यस्त रहे । ओलीसँग पार्टी एकता प्रक्रियाबारे गर्नुपर्ने महत्वपूर्ण छलफललाई स्थगित गरेर प्रचण्ड चितवनमै बसे ।

त्यसपछि समेत लगातार प्रचण्डले मतदातालाई उच्च महत्व दिएर कार्यक्रममा सहभागिता जनाउने गरेका छन् ।

प्रचण्डले शनिबार समेत आफू पढेको र पढाएको चितवनको नारायणी विद्या मन्दिरको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागिता जनाएका छन् ।

कमेन्ट गर्नुहोस्