काठमाडाैं । होलीको अवसरमा ट्राफिक नियम विपरित चलाउने एक हजार एक सय तीनवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसमध्ये ८३ वटा सवारी साधन मादक पदार्थ सेवन गरेर चलाइएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।
नियन्त्रणमा लिइएको सवारी साधनलाई साँझ ६ बजेबाट फिर्ता गर्न थालिएको छ ।
यस वर्ष होलीमा अप्रिय घटना भने नभएको पनि प्रहरीले जनाएको छ । एक जना गम्भीर घाइते हुनेबाहेक अन्य कुनै अप्रिय घटना नभएको प्रवक्ता मरासिनीले जानकारी दिए । नियन्त्रणमा लिएका सवारी धनीलाई भने यातायात व्यवस्था ऐन अनुसार कारबाही हुनेछ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेलुका पनि अप्रिय घटना हुनसक्ने भन्दै सवारी साधन चेकजाँचको कामलाई कडाई गरेको छ ।
बेलुका मादक पदार्थ सेवन गरेर हुन सक्ने दुर्घटनालाई मध्यनजर राखेर चेकजाँचमा कडार्इं गरिएको पनि प्रवक्ता मरासिनीले स्पष्ट पारे । गत वर्ष भन्दा यस वर्ष होलीमा सवारी दुर्घटना कम भएको महाशाखाले जनाएको छ ।
महाशाखाले होलीमा सवारी दुर्घटना हुन नदिन विहान ६ बजेबाटै देशभर सवारी साधनको चेकजाँचलाई कडा पारेको थियो ।