व्यापार युद्धको पक्षमा ट्रम्प, आइएमएफले गर्‍यो आलोचना

काठमाडौं, फागुन १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो योजनाको सर्वत्र विरोध भइरहेको छ, जसमा स्टिल तथा आल्मुनियम आयातमा सीमा शूल्क अत्याधिक बढाउने तयारी गरिएको छ ।

ट्रम्पले स्टिल आयातमा २५ प्रतिशत तथा आल्मुनियम आयातमा १० प्रतिशत सीमा शूल्क बढाउने तयारी गरेका छन् ।

युरोपियन युनियन (इयु) सहितका विभिन्न देश तथा संगठनले यसको विरोध गरिहेका छन् । पछिल्लो पटक अन्तर्राष्ट्रि मुद्रा कोष (आइएमएफ) पनि ट्रम्पको योजनाको विपक्षमा उभिएको छ ।

आइएमएफले आयातमा सीमा शूल्क ठूलो मात्रामा बढाउने निर्णयले अरु देशसँगै अमेरिकालाई नै पनि नोक्सानी गर्ने चेतावनी दिएको छ ।

अरु देशले पनि व्यापारिक वातावरण कठीन रहेका तथा सुरक्षा खतरा बढेको भन्दै अमेरिकाले जस्तै कदम चाल्न सक्ने र यो अमेरिकाका लागि पनि घातक हुने आइएमएफको भनाई छ । यस्तो अवस्थामा आएमा विश्व अर्थतन्त्रमा ठूलो असर पर्ने आइएमएफले जनाएको छ ।

अमेरिकामा ठूलो मात्रामा स्टिल पठाउँदै आएको क्यानडाले ट्रम्पको योजनाले दुवै तर्फको सीमामा अस्थिर अवस्था ल्याउन सक्ने बताएको छ । ट्रम्पले आउँदो हप्ता सीमा शूल्क बढाउने योजनालाई लागु गर्ने बताएका छन् ।

तर क्यानडासहितका धेरै देशले यो योजनाबाट पछि नहटेमा आफूहरुले पनि अमेरिकासँगको व्यापारका बारेमा सोच्ने बताएका छन् ।

यस्तै विश्व व्यापार संगठनले ट्रम्पको योजनाले विश्वमा व्यापार युद्धको अवस्था आउन सक्ने र यो सकैको लक्ष हुन नहुने बताएको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने व्यापार युद्ध राम्रो रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्