चमेलियामा ८ मेगावाट विद्युत् थपिने

काठमाडौं, फागुन २० । दार्चुलाको चमेलियामा वैशाख अन्तिम साता थप ८ मेगावाट विद्युत् थपिने भएको छ । शैल्यशिखर नगरपालिका–२ देथलामा अपी पावर कम्पनी लिमिटेडद्वारा निर्माण भइरहेको अपरनौगाडले उत्पादन गर्ने विद्युत् थपिने भएको हो ।

निजी क्षेत्रबाट उत्पादन भइरहेको माथिल्लो नौगाड साना लघु जलविद्युत्ले वैशाख अन्तिम साता उत्पादन सुरु गर्ने तयारी भइरहेको आयोजना प्रमुख भुपाल अधिकारीले जानकारी दिए । गत २७ माघमा शैल्यशिखर नगरपालिका–१ शिखरबाट चमेलियामा ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । नौगाडबाट उत्पादन हुने विद्युत् सिधै बलाँचमा रहेको चमेलिया जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइनमा जोडिनेछ ।

२०७३ पुसदेखि निर्माण सुरु गरेको अपरनौगाडले १७ देखि १८ महिनामा विद्युत् उत्पादन गर्ने जनाएको छ । हाल नौगाडको निर्माण कार्य झन्डै ८० प्रतिशत सकिएको छ । विद्युत्को इन्टेक निर्माणको कार्य भइरहेको छ ।

नौगाड गाउँपालिकाको धुलीगडा भएर बग्ने नौगाड खोलामा विद्युत् निकाल्ने काम भइरहेको छ । यसअघि सोही ठाउँको देथलामा ८ दशमल ८ मेगावट विद्युत् उत्पादन भइसकेको छ । अपी पावर कम्पनीले नै उक्त ठाउँमा विद्युत् निकालेको थियो ।

पहिलो कामको अनुभवले माथिल्लो नौगाडमा विद्युत् निकाल्न सहज भएको आयोजना प्रमुख अधिकारीले बताए । विद्युत् उत्पादनका लागि १ सय ४४ करोड लगानी लाग्ने जनाइएको छ । नौगाड र अपरनौगाड खोलाबाट उत्पादन हुने १६ दशमलव ५ मेगावाट विद्युत्बाट चमेलियाको राष्ट्रिय प्रसारण लाइनमा ४६ दशमलव ५ मेगावाट विद्युत प्रवाह हुनेछ ।

यसैबीच नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको शैल्यशिखर नगरपालिका र मार्मा गाउँपालिका तथा बैतडीको डिलाशैनी गाउँपालिकामा विद्युत् विस्तारका लागि टेन्डर निकाल्ने तयारी भएको छ । प्रदेश ७ कै ठूलो आयोजनाका रूपमा चमेलिया जलविद्युत् आयोजना निर्माण भए पनि आयोजनास्थलका बासिन्दाले विद्युत् नपाएको गुनासोपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरणका लागि टेन्डर निकाल्ने भएको हो ।

आयोजना वरिपरिका स्थानीय तहमा विद्युत् वितरणका लागि हाललाई कुल ९८ लाख रुपैयाँ बजेट प्राप्त भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले जानकारी दिए । तीनवटै स्थानीय तहमा विद्युत् पु¥याउने गरी टेन्डर हुन लागेको हो । विद्युत् वितरणका लागि लागत इस्टिमेट तयारी भइरहेको छ । हाल प्राप्त बजेटबाट ४५० वटा विद्युत् पोल, ११ केभीएका १० किलोमिटर प्रसारण लाइन विस्तार गरिनेछ । यस्तै, २० किलोमिटर शाखा लाइन बिछ्याउने तयारी गरिएको छ भने आठवटा ट्रान्सफर्मर राखिनेछ । नेपाल विद्युत् प्राधिकरणले प्राप्त अख्तियारीभन्दा बढी २ करोड बजेटको टेन्डर खोल्ने तयारी थालेको छ ।

कमेन्ट गर्नुहोस्