संघीय संसदको पहिलो बैठक शुरू

काठमाडौं, फागुन २१ । संघीय संसदको पहिलो बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा केही समय अघि शुरु भएको छ ।

संघीय संसदमा प्रतिनिधि र राष्ट्रियसभा गरी दुई सदन रहेका छन् । दुवै सदनको बैठक आ–आफ्ना सभा हलमा अहिले बसिरहेको छ ।

दवै सदनको बैठकको अध्यक्षता जेष्ठ सदस्यले गरिरहेका छन् । प्रतिनिधिसभा अध्यक्षता जेष्ठ सदस्य राजपा सांसद महन्त ठाकुर र राष्ट्रियसभाको जेष्ठ सदस्य तारादेवी भट्टले गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरे अनुसार निर्वाचित संसदको पहिलो बैठक सोमबार बस्न लागेको हो ।

प्रतिनिधिसभामा नेकपा एमालेका १२१, नेपाली कांग्रेसका ६३, नेकपा माओवादी केन्द्र ५३, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एकरएक र स्वतन्त्र एक सांसद छन् ।

गएको मंसिर १० र २१ गते निर्वाचन सम्पन्न भएपछि ढिलो गरी निर्वाचन आयोगले अन्तिम मतपरिणाम राष्ट्रपति समक्ष बुझाएको थियो । संवैधानिक व्यवस्था अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएको एक महिनाभित्र संसदको पहिलो बैठक आह्वान गर्नु पर्ने व्यवस्था छ ।

प्रतिनिधि र राष्ट्रियसभाका लागि निवाृचित सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै प्रधानमन्त्री कार्यालयले मन्त्री परिषद बिस्तार सम्बन्धी पूर्ण विवरणसहितको पत्र पढेर सुनाउने कार्य सूची पनि रहेको एमाले नेता भानुभक्त ढकालले जानकारी दिए ।

यस्तै सोमबारकै बैठकले संघीय संसदको अन्तरिम कार्यविधि अनुमोदन गर्ने, बैठक सञ्चालनका लागि संसदमा प्रतिनिधित्व गर्ने पाँच दलबाट एक एक जनाको नाम अनुमोदन गर्ने कार्यतालिका रहेको छ ।

त्यसैगरी संसदको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने तयारी छ । सोमबारको बैठकमा सबैदलका प्रतिनिधिले सम्बोधन गर्न नभ्याउने भएकाले मंगलबार बिहान बैठक बस्ने भएको हो ।

सबै दलका प्रतिनिधिले मंगलबार सम्बोधन गर्ने छन् ।

कमेन्ट गर्नुहोस्