भोट नदिएपनि ढुक्क भएर सुत्नु होला देश बन्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिएपनि देश बनाउने दाबी गर्दै सांसदहरुलाई ढुक्क भएर राती निदाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरुलाई धेरैले सोध्ने छन् केपी ओली भोट दिनु भएन भनेर तर सबै भन्दा धेरै चाहीँ तपाईलाई तपाईको आफ्नै मनले सोध्ने छ केपी ओलीलाई किन भोट नदिएको भनेर । ’
विश्वासको मत मागेपछि सांसदमा सम्बोधन गर्दै विपक्षलगायतका दलका नेताले राखेका जिज्ञासाको जवाफ दिदै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘मैले संसदमा र अन्यत्र बोलेको कुराको पूर्ण जिम्मा लिन्छु । दलीय व्यवस्थाका कारण मत दिन नमिले पनि विकास र सम्बृद्धिको यात्रामा विपक्ष दलका नेताले पनि सहकार्य गर्नै प्रतिबद्धता जनाएकोमा खुश व्यक्त गर्दछु ।’

आइतबार संसदमा बोल्दै अधिकांश व्यक्तले कैलाली घटनाका बारेमा जोडदार रुपमा आवाज उठाएपछि जवाफमा प्रधानमन्त्रीले भने, ‘कैलाली घटना समाजिक पछौटेपनको उपज हो । यो २५ दिन यता सरकारको कारणले भएको होइन । साथीहरुले मेरो नेतृत्वको सरकारका कारण भएको जसरी विषय उठान गर्नु भयो । मैले घटना थाहा पाए लगत्तै दोषीमाथि कारबाहीको निर्देशन दिएको छु । अब सरकारले पछौटेपन उन्मुलन गर्न दुई कदम चाल्छ ।’

कमेन्ट गर्नुहोस्