डोल्पामा पहिलो पटक गाडी पुग्दा…

डोल्पा, फागुन ३०। हिमाली जिल्ला डोल्पाको करोपगाडसम्म यातायात सञ्चालनमा ल्याइएको छ । त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने करोपगाडसम्म सोमबारदेखि यातायात सञ्चालन भएको हो ।

सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत त्रिवेणी बजारदेखि करोपगाडसम्मको पाँच किमी सडकखण्ड निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको यहाँ स्थित नेपाली सेनाले जनाएको छ ।

डोल्पालीले यातायात नुहुँदा भोग्नुपरेको समस्या मध्यनजर गर्दै त्रिवेणी–करोपगाड खण्डमा आन्तरिक यातायातको रुपमा जिप, ट्याक्टर लगायतका हलुका सवारी साधन सञ्चालनमा ल्याइएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डको कूल लम्बाइ ११७ दशमलव ७ किमी सडकखण्डमध्ये ११४ दशमलव ७ किमी सडक निर्माण भइसकेकोे छ । सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको जाजरकोट–डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल विश्बन्धु पहाडीले जानकारी दिनुभयो । करोपगाडसम्म गाडी पुगेसँगै डोल्पालीको जिल्ला बाहिरको यात्रासमेत छोटिएको छ ।

सडकले छिचोलिन थालेपछि पैदल हिँडेर जाँदा चार दिनसम्म लाग्ने नेपालगञ्ज, सुर्खेत यात्रा छोटिएर अब दुई दिनमा झरेको त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीयवासी कृष्णचन्द्र पाण्डेले जानकारी दिनुभयो ।

सडक यातायात पुगेपछि डोल्पाको एकमात्र यातायात साधनको रुपमा रहेको जुफाल विमानस्थलमा हप्तौ कुरेर हबाइजहाजको टिकट लिनुपर्ने बाध्यता समेत टर्न थालेको उहाँले बताउनुभयो । पहाडीले भन्नुभयो, “बाँकी तीन किमी सडकखण्ड चट्टानै चट्टान भएकाले एकदमै चुनौतीपूर्ण छ, थुप्रै चुनौतीका बाबजुद् पनि सेनाले हार नखाएर निर्माणकार्यमा अहोरात्र खटिरहेको छ ।”

“आगामी दशैँसम्ममा डोल्पाको दुनैसम्म बाटो खुलाएर डोल्पाली जनताको वर्षांैदेखिको सडक सपना साकार पार्ने लक्ष्य अनुरुप सेना अघि बडिरहेको छ” पहाडीले थप्नुभयो । अहिले श्रीवीण्डे–खदाङ तीन किमी सडकखण्डमा काम भइरहेको छ, यस खण्डको बिचमा चिप्ले, फोई, फूलपानी भिर,चुँ गाडभिर लगायतका दर्जनौं कडा चट्टनयुक्तभिर पहरा फुटाउनका लागि सेनाले विभिन्न ठाउँमा निर्माण क्याम्प खडा गरेर तीव्र रुपमा काम अगाडि बडाइरहेको छ ।

जाजरकोट–डोल्पा सडकखण्डको जिरो पोइन्ट जारकोटको पासगाडदेखि श्रीविण्डे बजारसम्मको ९० किमी सडक निर्माण गरिएको सेनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्