शनिबार टुँडिखेलमा घोडेजात्रा मनाइँदै

काठमाडौँ । चैत ३ गते शनिबार चैत कृष्ण औंशीका दिन टुँडिखेलमा अश्वकला प्रदर्शन गरेर घोडेजात्रा पर्व मनाइँदै छ ।

टुन्ड नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिएपछि तिनै राक्षसलाई घोडाको टापद्वारा कुल्चाएर राख्ने उद्देश्यका साथ टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाइने गरिन्छ । घोडेजात्राका दिनदेखि सागसब्जी, हरियो लसुनलगायतका तरकारी बेस्वादको हुँदै जाने मान्यता छ । पाटनमा एउटा आँखा नदेख्ने घोडालाई हाहाहुहु गर्र्दै बालकुमारीटोलबाट सहरमा धपाएर यो जात्रा मनाउने प्रचलन छ ।

जनैपूर्णिमाका ब्राह्मण, तीजका महिला, असारका रोपाहार र घोडेजात्रा मनाइरहेका नेवार समुदायसँग यस दिन जिस्कने फुर्सद हुँदैन भनिन्छ । घोडेजात्रा मनाइरहेका नेवार समुदायलाई कता हौ ? भनी ठट्टा गर्दा म जङ्गबहादुर राणाको घोडा किन्न हिँडेको हुँ भनी धक फुकाएर एक जमानामा भन्ने गरिन्थ्यो भन्ने जनश्रुति छ । कसैले नतिर्ने नियतले सापटी लिँदा घोडेजात्राको भोलिपल्ट तिरौँला भनेर टार्ने गर्छन् भनिन्छ ।

पाटनको घोडालाई ‘ए कानु ए कानु भन्दै हाहा र हुहु’ गर्दै घाँस नभएको ठाउँमा दौडाउने गरिन्थ्यो तर अचेल सडक बाटोतिरै घोडा दौडाउने गरिन्छ । धादिङ छत्रेदेउराली गाउँपालिका वडा नं. २ का शिवहरि लुइँटेलका अनुसार धादिङको गल्छीमा २०७२ सालसम्म घोडेजात्रा मनाउने गरिएको थियो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले त्रिशूलीमा घोडासहित फाल हालेको संस्मरणमा यो जात्रा त्यहाँ हुने गरेको थियो ।

उनका अनुसार थानकोटको झ्यालटुङ्पाटीमा पनि पोखरीमा कानु घोडा कुँदाएर यो जात्रा गत २०६८ सालसम्म मनाइने गरिएकोमा यो जात्रा अचेल हुन छाडेको छ । उपत्यकाका तलेजु भवानीका बाहनका रूपमा राखिएका घोडालाई भने जात्रा लाग्दैन । हनुमानढोका दरबार हेरचाह अड्डाका मिठाराम पुडासैनीका अनुसार यी घोडा देवता स्वरूपका भएकाले जात्रा लाग्दैन । यसै दिन टुँडिखेलको चार कुनामा रहेका राणा प्रधानमन्त्री घोडा सवार भएको सालिक अवलोकनसमेत गरिन्छ ।

यसैदिन सिंहदरबार पश्चिमद्वारतर्फ फर्किएको भद्रकालीमा रहेको मोहनशमशेरको सालिकलाई माल्यार्पणसमेत गर्ने गरिन्छ । घोडेजात्राका दिन जुद्ध वारुण यन्त्र कार्यालय अगाडि रहेको अश्विनीकुमारको पीठमा रिसल्लासहित आएको नेपाली सेनाको क्याभलरि युनिटले एकाबिहानै बोका बलि दिएपछि टुँडिखेलमा घोडेजात्रा सुरु हुन्छ ।

कमेन्ट गर्नुहोस्