उत्तर कोरिया र कतारका राजदूतले भेटे सभामुख महरालाई

काठमाडौं । प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि कतार र उत्तर कोरियाका राजदूतले शिष्टाचार भेट गर्नुभएको छ ।

सभामुखको कार्यालय सिंहदरबारमा आज कतारका राजदूत युसुफ बिन मोहम्मद अल र उत्तर कोरियाका राजदूत चोय तेइ पोकले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो । सभामुख महराले दुबै राजदूतसँगको भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताउनुभयो ।

भेटघाटका क्रममा दुबै देशका राजदूतले सभामुख पदमा निर्वाचित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो । सभामुखसँगको भेटमा कतारका राजदूत युसुफ बिन मोहम्मद अलले नेपाल र कतारको सम्बन्ध राम्रो रहेको भन्दै आगामी दिनमा अझै सम्बन्ध विस्तार गरेर लैजाने बताउनुभयो ।

याे पनि पढ्नुस  महरालार्इ जिताउन दाङ झरे अनन्त

सो अवसरमा सभामुख महराले २ देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्नेतर्फ पहल बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कतारमा अहिले ४ लाख बढी नेपाली कामदार रहेको भन्दै उनीहरूको रोजगारीको सुनिश्चिता र सुरक्षाका बारेमा चासो व्यक्त गर्नुभएको थियो ।

सभामुख महराले उत्तर कोरियाका राजदूत चोय तेइ पोकसँगको भेटमा प्रजातान्त्रिक कोरिया र नेपालको सम्बन्ध थप सुदृढ होस् भन्ने चाहेको बताउनुभयो । पछिल्लो समय वार्ताका माध्यमबाट दक्षिण कोरियासँगको सम्बन्ध सुध्रिँदै गएकोमा खुसी व्यक्त गर्दै सभामुख महराले शान्तिका लागि भइरहेको प्रयास सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा उत्तर कोरियाका राजदूत चोय तेइ पोकले सभामुखमा निर्वाचित हुनुभएकोमा बधाई व्यक्त गर्दै उत्तर कोरियाको सुप्रिम एसेम्बलीका अध्यक्षको पनि बधाई सन्देश सुनाउनुभएको थियो ।

याे पनि पढ्नुस  यसकारण कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो

साथै, उहाँले शान्तिका लागि उत्तर कोरियाले स्वतन्त्रता र अधिकारको ग्यारेन्टीसहित बाह्य हस्तक्षेपबीच २ कोरियाको एकीकरण चाहेको बताउनुभयो । भेटवार्ताको अवसरमा पोकले सभामुख महरालाई उत्तर कोरिया भ्रमणका लागि आग्रह गर्नुभएको थियो ।

जवाफमा सभामुख महराले आफू ९ वर्षअघि सञ्चारमन्त्री हुँदा प्योङयाङ पुगेको स्मरण गर्दै फेरि पनि उत्तर कोरियाको भ्रमण गर्न आफू इच्छुक रहेको र अनुकूलता हेरेर सभामुखको कार्यकालमै प्योङयाङ पुग्ने बताउनुभयो । ‘म उत्तर कोरियाको भ्रमण गर्न इच्छुक छु, अनुकूलता हेरेर सभामुखकै कार्यकालमा भ्रमण गर्नेछु,’ उहाँले भन्नुभयो, ‘त्यहाँ पुगेर किम इल सुङको घर, जंगलभित्रको म्यूजियम र उत्तर कोरियाको विकास अवलोकन गर्ने चाहना छ ।’

कमेन्ट गर्नुहोस्