ट्राफिक व्यवस्थापनको दीर्घकालीन योजना बनाउन ७ नम्बर प्रदेशका मुख्यमन्त्रीको निर्देशन

धनगढी । प्रदेश राजधानी लगायत तराईका विभिन्न शहरमा बढ्दै गएको ट्राफिक चापलाई व्यवस्थापन गर्न ७ नम्बर प्रदेशका मुख्यमन्त्री चिलोचन भट्टले चासो व्यक्त गरेका छन् ।

धनगढी प्रदेशको अस्थायी राजधानी तोकिएपछि जनघनत्व बढ्दै जाँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । तत्कालीक ट्राफिक व्यवस्थापन सँगसँगै दीर्घकालीन व्यवस्थापनका लागि योजना बनाउन मुख्यमन्त्री भट्टले ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेशबहादुर पालसँग छलफल गरेका छन् । एसपीलाई आफ्नै कार्यकक्षमा डाकेर मुख्यमन्त्री भट्टले ट्राफिक व्यवस्थापनबारे बुझेका हुन् ।

मुख्यमन्त्रीसँग भेटेर एसपी पालले पहाडी क्षेत्रमा ट्राफिक व्यवस्थापनको खासै समस्या नभएपनि तराईका २ जिल्लामा समस्या रहेको बताए । ‘जनशक्ति अभाव भएकाले पनि ट्राफिक चुनौति थपिँदै गएको छ,’ पालले गुनासो पोखे । ट्राफिक प्रहरी प्रमुख पाललाई मुख्यमन्त्री भट्टले तत्काल उपलब्ध स्रोतसाधन र जनशक्तिको चुस्त प्रयोग र परिचालन गर्न निर्देशन दिए ।

‘ट्राफिक नियम पालना गराउन मेरो पूरै सहयोग हुन्छ, राजनीतिक दबाबबाट मुक्त भएर काम गर्नुहोला ।’

ट्राफिक नियमको कडाइका साथ पालना गराउन निर्देशन दिँदै भट्टले नियम कार्यान्वयनका सिलसिलामा कसैले अटेर गरे कारवाही गर्न निर्देशन दिए । ‘ट्राफिक नियम पालना गराउन मेरो पूरै सहयोग हुन्छ, राजनीतिक दबाबबाट मुक्त भएर काम गर्नुहोला,’ निर्देशन दिँदै मुख्यमन्त्री भट्टले भने । थप जनशक्ति र स्रोतसाधनका लागि केन्द्र सरकारसँग पहल गर्ने बताउँदै उनले धनगढी, महेन्द्रनगर, टिकापुर, अत्तरिया लगायत जनचाप बढी हुने क्षेत्रको ट्राफिक व्यवस्थापनमा ध्यान दिन निर्देशन दिए ।

मुख्यमन्त्री भट्टले आजै यातायात व्यवस्था कार्यालय धनगढीको छड्के अनुगमन समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्