कञ्चनपुरको लिङ्गालाई पर्यटकीय क्षेत्र बनाउन उपराष्ट्रपतिको चासो

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुरको दैजीमा रहेको लिङ्गालाई पर्यटकीय क्षेत्र बनाउन चासो व्यक्त गर्नुभएको छ ।

दोस्रो कार्यकालका लागि उपराष्ट्रपति निर्वाचित भएपछि आज बधाई तथा शुभकामना दिन गएको नेकपा माओवादी केन्द्र कञ्चनपुरको टोलीसँग कुराकानी गर्दै उपराष्ट्रपति पुनले लिङ्गा क्षेत्रको सुन्दरता टेलिभिजनमा देखेको स्मरण गर्नुभयो । ‘लिङ्गा क्षेत्रमा रहेको भू–बनोट र स्वरुप मैले टेलिभिजनमा देखेको थिए, साह्रै सुन्दर लाग्यो,’ उहाँले भन्नुभयो, ‘त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके राम्रो हुन्छ ।’

याे पनि पढ्नुस  उपराष्ट्रपति पुनद्वारा बाढीपीडित आर्थिक सहयोग

प्रत्यक्ष रुपमा लिङ्गा क्षेत्रमा नगएका उपराष्ट्रपति पुनले टेलिभिजनमा देखेकै आधारमा लिङ्गाको सुन्दरताबारे स्वस्फूर्त चासो व्यक्त गर्नुभएको थियो । उहाँले लिङ्गा क्षेत्रको अवलोकन गर्ने इच्छा समेत व्यक्त गर्नुभएको छ । बेदकोट नगरपालिकामा पर्ने लिङ्गालाई पछिल्लो समय स्थानीय अगुवाको पहलमा भगवान शिवको आस्थाको केन्द्रका रुपमा विकास गरिँदै लगिएको छ । चीनमा रहेको ‘रक गार्डेन’को अवलोकन गर्नुभएका उपराष्ट्रपति पुनले लिङ्गा क्षेत्रलाई पनि ‘रक गार्डेन’जस्तै पर्यटकीय क्षेत्र बनाउन सकिने सुझाव दिनुभयो । ‘रक गार्डेन’मा पर्यटक भित्र्याएर चीनले आर्थिक लाभ लिने गरेको उहाँले बताउनुभयो ।

याे पनि पढ्नुस  अबको युग आर्थिक समृद्धिको : उपराष्ट्रपति पुन

लिङ्गाको मनमोहन दृश्यबाट प्रभावित भएर आन्तरिक पर्यटकहरू उक्त क्षेत्रमा जाने गरेका छन् । उपराष्ट्रपतिलाई भेट्ने टोलीमा रहेका नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश प्रचारप्रसार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ले लिङ्गालाई पर्यटकीय क्षेत्र बनाउन पहल भइरहेकोबारे उपराष्ट्रपति पुनलाई जानकारी गराउनुभयो । ‘लिङ्गा क्षेत्रको प्रचारप्रसार र पर्यटन विकासका लागि सम्माननीय ज्यूको भ्रमणको कार्यक्रम चाँडै बनाएर खबर गर्छाै,’ उहाँले भन्नुभयो ।

लिङ्गा क्षेत्रको विकासका लागि बेदकोट नगरपालिकाले समेत प्रयास गरिरहेको उहाँले उपराष्ट्रपति पुनलाई बताउनुभयो । लिङ्गाको विषयमा यसअघि आफूले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग समेत जिज्ञासा राखेको उपराष्ट्रपति पुनले जानकारी दिनुभयो । डडेल्धुराको जोगबुढास्थित पुन्तुरामा पनि लिङ्गाजस्तै मनमोहक भू–बनोट रहेको टोलीले जानकारी गराएको थियो ।

याे पनि पढ्नुस  उपराष्ट्रपति पुन स्वदेश फिर्ता

उपराष्ट्रपति पुनलाई बधाई दिने टोलीमा राष्ट्रियसभा सदस्य महेशकुमार महरा, नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक वीरबहादुर थापा ‘पातल’, माओवादी केन्द्र कञ्चनपुरका पूर्वसचिव खेम पाण्डेय लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्